तेहरान: इरानको सर्वोच्च अदालतले चर्चित गायक आमिर होसेन माध्सोउद्लू (प्रसिद्ध नाम टाटालू) लाई ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।
अदालतले पैगम्बर मोहम्मदको निन्दा गरेको ठहर गर्दै यो सजाय सुनाएको हो। यसअघि उनलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो, तर अभियोजनकर्ताहरूले उक्त फैसलाविरुद्ध अपिल गरेपछि सर्वोच्च अदालतले मृत्युदण्डको निर्णय सुनाएको हो।
टाटालूमाथि वेश्यावृत्तिको प्रवर्द्धन, अश्लील सामग्री प्रकाशन, र इरानी सरकारविरुद्ध प्रोपोगान्डा चलाएको आरोप पनि लगाइएको छ। यी आरोपहरूमध्ये वेश्यावृत्तिको प्रवर्द्धन अभियोगमा उनलाई १० वर्षको जेल सजाय तोकिएको थियो।
यो फैसलालाई अन्तिम मानिएको छैन। ३७ वर्षीय टाटालूले सर्वोच्च अदालतको निर्णयविरुद्ध अपिल गर्न सक्नेछन्।
सन् २०१८ देखि टाटालू टर्कीको इस्तानबुलमा बस्दै आएका थिए। उनले आफ्नो संगीत र विचारमार्फत विवादास्पद छवि बनाएका थिए, जसले इरानी सरकारको आलोचना निम्त्यायो। सन् २०२३ को डिसेम्बरमा टर्किश प्रहरीले उनलाई पक्राउ गरी इरानी अधिकारीहरूलाई सुपुर्द गरेको थियो।
इरानमा ईशनिन्दा (धार्मिक अपमान) गरेको ठहरिएमा कठोर सजाय तोकिन्छ। यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्दै आएको छ। टाटालूको मुद्दाले इरानको न्यायिक प्रणाली र अभिव्यक्ति स्वतन्त्रतामाथि पुनः बहस सुरु गराएको छ।
टाटालू आफ्ना विवादास्पद गीत र समाजमा स्थापित मान्यताविरुद्धका विचारका कारण लोकप्रिय तथा विवादित दुवै बनेका थिए। उनलाई समर्थन गर्ने धेरैले यो निर्णयको विरोध गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन भनेका छन्।