Friday, June 26, 2026
Homeअर्थ र ब्यापारइटहरीका मनराज पुरीको सफल उद्यमशीलता: विदेशबाट फर्किएर पशुपालन र मौरीपालनमा आत्मनिर्भरता

इटहरीका मनराज पुरीको सफल उद्यमशीलता: विदेशबाट फर्किएर पशुपालन र मौरीपालनमा आत्मनिर्भरता

धरान (सुनसरी): करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएका इटहरीका मनराज पुरी अहिले व्यावसायिक पशुपालन र मौरीपालनमा सफलतापूर्वक अगाडि बढिरहेका छन्। आठ वर्षसम्म साउदी अरब र मलेसियामा काम गरेर फर्किएपछि सानो लगानीमा सुरु गरेको व्यवसाय अहिले उनको प्रमुख आम्दानीको स्रोत बनेको छ।

१७ वर्षको उमेरमै बाबुआमा गुमाएका मनराजले विदेशमा गरेको परिश्रमबाट संकलित पूँजीलाई आफ्नै देशमा लगानी गर्ने निर्णय गरे। “विदेशमा कमाएको थोरै पैसा आफ्नो देशमै लगानी गरेर केही व्यवसाय गरौँ भन्ने सोच थियो। अन्य व्यवसाय गर्ने विचार पनि थियो, तर सही तरिका थाहा नभएकाले पशुपालनबाट सुरु गरें,” उनले सम्झिए।

शुरुमा गाईबाख्रा पालेर व्यवसाय थालेका उनले पछिल्लो समय मौरीपालनलाई पनि प्राथमिकता दिएका छन्। “मौरीपालनबाट राम्रो आम्दानी भइरहेको छ। अहिले वार्षिक आठदेखि नौ लाख रुपैयाँसम्म कमाइ हुन्छ, जसले घरव्यवहार सहजै चलिरहेको छ,” उनले सुनाए।

स्वरोजगारको अवसर र व्यावसायिक चुनौती
गाईपालन सुरु गर्दा दूधको बजार पाउने कुरामा केही चिन्ता भए पनि स्थानीय होटल, डेरी र बजारसम्म आफैँ दूध पुर्याउने उनको दैनिकी छ। हाल उनी दैनिक ४० देखि ५० लिटरसम्म दूध बिक्री गर्छन्।

विदेशबाट फर्किएपछि गाउँमै रोजगारी सिर्जना गर्न पाउँदा उनलाई आत्मसन्तुष्टि मिलेको छ। उनले आफ्नो गाईफार्ममा दुई जनालाई रोजगारी दिएका थिए। “कामदारलाई मासिक २२ हजार रुपैयाँ तलब दिइन्थ्यो, तर केही महिनाअघि उनीहरू बाहिरिएका छन्। अहिले परिवारकै सदस्यहरू मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,” मनराजले बताए।

घाँसको समस्या नरहेको बताउँदै उनले भने, “गाईका लागि घाँस आफ्नै बारीमा रोपेको छु। धान खेतीबाट पराल पनि प्राप्त हुन्छ, त्यसैले बाहिरबाट किन्ने आवश्यक पर्दैन।”

मौरीपालनमा नयाँ अवसर
एक वर्षअघि चारवटा मौरीका घार किन्दै मौरीपालन सुरु गरेका मनराजसँग अहिले ४० भन्दा बढी घार छन्। “सुरुमा सानो लगानीबाट थालेँ, तर यसबाट राम्रो आम्दानीको सम्भावना देखेर मौरीपालनलाई अझ प्राथमिकता दिन थालेको छु,” उनले भने।

मौरीबाट मह उत्पादनको समय मौसम अनुसार फरक पर्ने उनी बताउँछन्। “फूल फुल्ने सिजनमा २२ देखि ३० दिनमा मह निकाल्न सकिन्छ, तर कहिलेकाहीँ तीन महिनासम्म पनि लाग्न सक्छ,” उनले अनुभव सुनाए।

हाल उनले प्रतिघार १४ हजार रुपैयाँमा मौरी किनेका छन्। एउटा घारबाट एक पटकमा करिब छ किलो मह उत्पादन हुने उनले जानकारी दिए। उत्पादन गरिएको मह स्थानीय बजारमै प्रतिकिलो ७५० देखि १,००० रुपैयाँसम्म बिक्री भइरहेको छ।

मौरीपालनको सम्भावना र सरकारी सहयोगको अपेक्षा
कम लागतमा सुरु गर्न सकिने मौरीपालन व्यवसायलाई उनले दीर्घकालीन आम्दानीको स्रोतका रूपमा देखिरहेका छन्। “मौरीपालन व्यवसायमा सरकारी अनुदान, तालिम र आधुनिक प्रविधिको समावेश भए अझ राम्रो आम्दानी गर्न सकिन्छ,” उनले जोड दिए।

गाउँमै उत्पादन भएको अर्गानिक मह राम्रो मूल्यमा बिक्री गर्न सकिने उनको अनुभव छ। “विदेशमा गएर अर्काको लागि काम गर्नुभन्दा आफ्नै देशमा सानो लगानी गरेर व्यवसाय गर्न सकिन्छ। यसले आफैँ मात्र होइन, अरूलाई पनि रोजगारी सिर्जना गर्न मद्दत गर्छ,” मनराजले भने।

उनको सफलताको कथा विदेशबाट फर्केर स्वदेशमै सम्भावना खोजिरहेका अन्य युवाहरूका लागि प्रेरणादायी बन्न सक्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका