Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रियइजरायली आक्रमणबाट गाजामा एउटै परिवारका तीन शिशु सहित ११ जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजामा एउटै परिवारका तीन शिशु सहित ११ जनाको मृत्यु

गाजा: गाजाको नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी गाजाको खान युनिसस्थित एक शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक वर्षभन्दा कम उमेरका तीन शिशुहरू समेत परेका छन्।

प्रवक्ता महमूद बास्सालका अनुसार शनिबार बिहान ३ बजे (स्थानीय समय) अल–बयराम परिवारको घरमा गराइएको आक्रमणमा एउटै विस्तारित परिवारका सदस्यहरूको ज्यान गएको हो। पहिचान गरिएका आठ मृतकमध्ये एक वर्षका छोरा, एक वर्षकी छोरी र एक महिनाको शिशु रहेका छन्।

इजरायली सेनाका प्रवक्ताले एएफपीसँग कुरा गर्दै सो आक्रमण ‘एक आतंककारी हमास सदस्यलाई लक्षित गरी गरिएको’ पुष्टि गरे पनि थप विवरण भने दिएका छैनन्।

घटनापछि उद्धारकर्मीहरू र स्थानीय बासिन्दाहरू भग्नावशेषमा जीवित वा मृतकको खोजीमा खटिएका थिए। एएफपीका एक पत्रकारले खिचेको भिडियोमा एक उद्धारकर्मीले खण्डहरबाट एक शिशुको निर्जीव शरीर बाहिर ल्याएको दृश्य देखिन्छ।

नजिकैको भवनमा बसोबास गर्ने फाइका अबु हाताबले भने, “मैले उज्यालो चमक देखेँ, त्यसपछि ठूलो विस्फोट भयो। सम्पूर्ण क्षेत्र धुलोले भरियो, केही देख्न सकिएन। झ्यालहरू फुटे, कोठाहरू क्षतिग्रस्त भए, छिमेकीको घर त पूर्ण रूपमा ध्वस्त भयो।”

इजरायलले मार्च १८ देखि हमासविरुद्ध पुनः आक्रमण सुरु गरेको हो। यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो। यो युद्ध २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि सुरु भएको थियो।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ पछि सुरु भएको पुनः आक्रमणबाट हालसम्म कम्तीमा २,३९६ जनाको मृत्यु भइसकेको छ। कुल मृतक सङ्ख्या ५२,४९५ पुगेको जनाएको छ।

शुक्रबार मात्रै इजरायली आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको पनि नागरिक सुरक्षा निकायले जनाएको छ। मार्च २ देखि गाजा पूर्ण रूपमा इजरायली नाकाबन्दीमा रहेको छ।

इजरायली पक्षले हमासले मानवीय सहायता अवरुद्ध गरिरहेको आरोप लगाउँदै गाजामा राहत सामग्री पठाउने प्रक्रिया रोकेको छ। इजरायलले नाकाबन्दीमार्फत हमासमाथि बन्धक मुक्तिको दबाब सिर्जना गर्ने उद्देश्य रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले गाजामा बढ्दो मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इजरायललाई सहायता प्रवाहमा लगाइएको रोक हटाउन आग्रह गरेका छन्। उनीहरूले गाजामा भोकमरीको जोखिम गम्भीर बन्दै गएको चेतावनी पनि दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका