Sunday, July 26, 2026
Homeअन्तराष्ट्रियअसममा बाढीको कहर: मृत्यु संख्या ६६ पुग्यो, ६.५४ लाखभन्दा बढी प्रभावित

असममा बाढीको कहर: मृत्यु संख्या ६६ पुग्यो, ६.५४ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको असम राज्यमा बाढीको अवस्था अझै गम्भीर बनेको छ। पछिल्लो २४ घण्टामा बाढीसँग सम्बन्धित घटनामा थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या ६६ पुगेको छ।

बाढीको विकराल अवस्थालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग टेलिफोनमार्फत कुराकानी गर्दै उद्धार तथा राहत कार्यबारे जानकारी लिएका छन्।

असम सरकारको विपद् व्यवस्थापन विभागले शनिबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीबाट ६ लाख ५४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ।

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का टोलीहरूले राहत तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। प्रतिवेदनअनुसार राज्यका १० जिल्लाका ८१० गाउँ अझै बाढीको पानीले डुबानमा छन्।

प्रभावित नागरिकका लागि विभिन्न जिल्लामा २७४ राहत शिविर तथा राहत केन्द्र सञ्चालनमा रहेका छन्, जहाँ करिब १९ हजार विस्थापितले आश्रय लिइरहेका छन्।

बाढीबाट शिवसागर, चराईदेव र जोरहाट जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। मृतकको संख्या पनि शिवसागर जिल्लामै सबैभन्दा बढी रहेको जनाइएको छ।

यसैबीच, असमका मुख्य सचिव रवि कोटाले बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

असममा हरेक वर्ष मनसुनका बेला व्यापक बाढी आउने गरे पनि यस वर्षको बाढी नागाल्याण्डको मोन जिल्लामा भएको कथित ‘बादल फुट्ने’ (क्लाउडबर्स्ट) घटनासँग जोडिएको बताइएको छ। मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि शिवसागरसहित माथिल्लो असममा आएको विनाशकारी बाढीको प्रमुख कारण सोही प्राकृतिक घटनालाई बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका