सिड्नी: अष्ट्रेलियामा हालै सम्पन्न आमनिर्वाचनमा लेबर पार्टीले पुनः विजय हासिल गरेको छ। अष्ट्रेलियन निर्वाचन आयोगका अनुसार, लेबर पार्टीले ८९ सिट जितेको छ भने विपक्षी लिबरल–नेसनल गठबन्धनले ३६ सिटमा जित हासिल गरेको छ। बहुमतका लागि आवश्यक ७६ सिट सहजै पार गर्दै लेबर पार्टीले सरकार गठनको सुनिश्चितता पाएको हो।
प्रधानमन्त्री एन्थोनी अल्बानीजको यो विजयले उनी २१ वर्षपछि दोस्रो कार्यकाल जित्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्। पछिल्लो अनुमान अनुसार, १५० सदस्यीय तल्लो सदनमा उनी कम्तिमा ८७ सिटसहित सरकारको नेतृत्व गर्न लागेका छन्।
यसअघि सन् २००४ मा लिबरल पार्टीका जोन होवार्ड लगातार दोस्रो कार्यकाल जितेका थिए। त्यसयता कुनै प्रधानमन्त्रीले दोस्रो पटक जित हासिल गरेका थिएनन्।
यस ऐतिहासिक जितसँगै विपक्षी लिबरल–नेसनल गठबन्धनले हार स्वीकार गरेको छ। विपक्षी नेता पिटर डटनले आफ्नो संसदीय क्षेत्र डिक्सन मा पराजय भोगेका छन्। यस पराजयलाई अष्ट्रेलियाली राजनीति इतिहासकै ‘शताब्दीको सबैभन्दा ठूलो राजनीतिक हार’ मानिएको छ। डटनले हार स्वीकार गर्दै भने, “हामीले राम्रो प्रदर्शन गर्न सकिएन, म यसको पूर्ण जिम्मेवारी लिन्छु।”
अष्ट्रेलियामा प्रत्येक ३ वर्षमा आम निर्वाचन हुने प्रावधान छ। यसपटक संसद २०२५ मार्च २८ मा विघटन भएपछि कार्यकारी सरकारको व्यवस्था गरिएको थियो। त्यसपछि अप्रिल २२ देखि ३० सम्म हुलाकमार्फत मतदान गरिएको थियो।
सन् २०२२ को निर्वाचनमा लेबर पार्टीले ७७ सिट जितेको थियो भने लिबरल–नेसनल गठबन्धनले ५८ सिटमा सफलता पाएको थियो। यसपटकको मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री एन्थोनी अल्बानीज नेतृत्वको लेबर पार्टी र पिटर डटन नेतृत्वको लिबरल–नेसनल गठबन्धनबीच भएको थियो।
अष्ट्रेलियामा नेपालको जस्तै दुई सदनीय संसद व्यवस्था छ। माथिल्लो सदनलाई ‘सिनेट’ र तल्लो सदनलाई ‘हाउस अफ रिप्रजेन्टेटिभ’ भनिन्छ। तल्लो सदनमा बहुमत ल्याउने पार्टी वा गठबन्धनको नेता प्रधानमन्त्री बन्ने गर्छन्। यस सदनमा १५० सिट छन् र मतदानको नतिजा मे ३ राति वा मे ४ बिहानसम्म आउने अपेक्षा गरिएको थियो।
यसैगरी, माथिल्लो सदन सिनेट का ७६ मध्ये ४० सिटका लागि पनि मतदान भएको छ। सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ भने हरेक ३ वर्षमा आधा सदस्य फेरबदल हुने प्रचलन छ।
अष्ट्रेलियामा १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकका लागि मतदान अनिवार्य छ। मतदान नगरेमा बिना उपयुक्त कारण २० अष्ट्रेलियन डलर जरिवाना तिर्नु पर्ने नियम छ। प्रधानमन्त्री बन्ने उमेरको न्यूनतम सीमा भने छैन — १८ वर्ष वा सोभन्दा माथिका व्यक्ति चुनाव लड्न र प्रधानमन्त्री बन्न सक्नेछन्।
एन्थोनी अल्बानीज अष्ट्रेलियाका ३१औं प्रधानमन्त्री हुन्। उनी लेबर पार्टीका नेता समेत हुन्। सन् २०२२ मा स्कट मोरिसनलाई पराजित गर्दै प्रधानमन्त्री बनेका थिए। उनका बुबा कार्लो अल्बानीज इटालियन मूलका थिए भने आमा मारियान एलेरी आयरिश मूलकी थिइन्। अल्बानीजले सिड्नी विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिएका छन्।
१६ वर्षको उमेरमै लेबर पार्टीमा प्रवेश गरेका उनले सिड्नी विश्वविद्यालयमा अध्ययन गर्दा नै विद्यार्थी राजनीतिमा सक्रियता देखाएका थिए। सन् १९९६ देखि उनी सिड्नीको इनर वेस्ट सिटबाट निरन्तर सांसद रहँदै आएका छन्, जुन क्षेत्र लेबर पार्टीको परम्परागत गढ मानिन्छ।