Wednesday, September 9, 2026
Homeअन्तराष्ट्रियअमेरिका–इरान तनाव चर्कियो, पाँच इरानी तेल ट्याङ्करमाथि अमेरिकी आक्रमण

अमेरिका–इरान तनाव चर्कियो, पाँच इरानी तेल ट्याङ्करमाथि अमेरिकी आक्रमण

बीबीसी । अमेरिकी युद्धपोतलाई लक्षित गरी दुईपटक आक्रमण भएपछि त्यसको जवाफमा अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ।

सेन्टकमका अनुसार ओमानको खाडीमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग सम्बन्धित चारवटा तेल ट्याङ्कर तथा इरानको खाडी तटमा रहेको प्रमुख तेल टर्मिनल खार्ग टापुनजिकै अर्को एउटा ट्याङ्करलाई निशाना बनाइएको हो।

अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ। जोर्डनले आफ्नो हवाई रक्षा प्रणालीमार्फत इरानबाट प्रहार गरिएका २० मध्ये १८ वटा मिसाइल खसालेको जनाएको छ। जोर्डनी सशस्त्र बलका अनुसार बाँकी दुई मिसाइल मानवरहित क्षेत्रमा खसेका थिए।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको छ महिनाभन्दा बढी समयपछि दुई देशबीचको तनाव पछिल्लो साता थप चर्किएको हो।

इरानले अमेरिकी युद्धपोतमा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि पछिल्लो द्वन्द्व बढेको सेन्टकमले जनाएको छ। ती मिसाइललाई सफलतापूर्वक निष्क्रिय पारिएको र आक्रमणमा कुनै अमेरिकी सैनिक हताहत नभएको अमेरिकी सेनाको दाबी छ।

जवाफमा अमेरिकाले निशाना बनाएका पाँचवटै इरानी तेल ट्याङ्कर आईआरजीसी तथा उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग पुर्‍याउने अर्बौँ डलरको ‘छाया सञ्जाल’ को हिस्सा रहेको बताएको छ।

अमेरिकी आक्रमणमा निशाना बनाइएको खार्ग टापु इरानको प्रमुख तेल निर्यात टर्मिनल हो। इरानको करिब ९० प्रतिशत कच्चा तेल पाइपमार्फत यही टापुमा ल्याएर निर्यात गरिने बताइएको छ।

यसबीच क्षेत्रीय तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ। एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य १.५ प्रतिशतले बढेर प्रतिप्यारेल ९९.४१ अमेरिकी डलर पुगेको छ। अमेरिकी बजारमा तेलको मूल्य १.६ प्रतिशतले बढेर ९४.५५ डलर पुगेको छ।

इरानले थप प्रतिशोधात्मक आक्रमण गर्ने चेतावनीसमेत दिएको छ। उसले कुवेत र बहराइनका बन्दरगाहनजिक रहेका अमेरिकी सम्बद्ध ट्याङ्करका चालक दललाई जहाज तत्काल छाड्न चेतावनी दिँदै ती जहाजलाई निशाना बनाउने जनाएको छ।

यता, इरान समर्थित यमनी हुथी समूहले पनि मंगलबार साउदी अरेबियाका ऊर्जा संरचना तथा नागरिक पूर्वाधारमा आक्रमण गरेको साउदी अधिकारीहरूले बताएका छन्। ड्रोन तथा मिसाइल आक्रमणबाट तेल प्रशोधन केन्द्र र अन्य संरचनामा आगलागी भएपछि सञ्चालन अस्थायी रूपमा रोकिएको जनाइएको छ। घटनामा ७३ जना घाइते भएको साउदी अधिकारीहरूको भनाइ छ।

अमेरिका–इरानबीचको पछिल्लो तनावबारे पत्रकारले सोधेको प्रश्नमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्थिति स्पष्ट रहेको बताएका छन्। कोलम्बिया भ्रमणका क्रममा उनले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गर्ने प्रयास जारी राखेकाले प्रत्येकपटक उसले आफ्ना ट्याङ्कर गुमाउने दाबी गरे।

यसैबीच, अमेरिकी आक्रमण हुनुभन्दा केही घण्टाअघि इरानी नौसेनाले हर्मुजको जलडमरूमध्यमा अमेरिकी मानवरहित पानीमुनि ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको थियो।

सेन्टकमका प्रवक्ता तथा अमेरिकी नौसेनाका क्याप्टेन टिम हकिन्सका अनुसार अमेरिकी सेनाले सञ्चालन गरेको उक्त अन्डरवाटर ड्रोन प्राविधिक खराबीका कारण एक दिनअघि नै बिग्रिएको थियो। उनका अनुसार ड्रोन क्षेत्रीय जलक्षेत्रको निगरानीका लागि नियमित अपरेसनअन्तर्गत प्रयोग गरिएको थियो।

हकिन्सले उक्त ड्रोन पुरानो मोडलको रहेको र त्यसमा संवेदनशील सूचना सङ्कलन गर्ने क्षमता, गोप्य सोनार वा राडार उपकरण नरहेको बताए। उनले क्षेत्रीय जलक्षेत्रमा अमेरिकी सैन्य अपरेसन भने निरन्तर जारी रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका