काठमाडौं: अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा सबै ६ जनाको मृत्यु भएको छ। विमान भवनमा ठोक्किएर विस्फोट भएपछि उक्त दर्दनाक घटना घटेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा चालकदलका चार सदस्य, एक बालक र उनकी आमा सवार थिए। सबैको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
विमान ठोक्किएपछि विस्फोट
अधिकारीहरू र प्रत्यक्षदर्शीहरूका अनुसार विमान भवनमा ठोक्किएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपरका घर र गाडीमा आगलागी भएको छ।
मेक्सिकोका नागरिकको मृत्यु
दुर्घटनामा परेका सबै ६ जना मेक्सिकोका नागरिक भएको पुष्टि भएको छ। विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।
यसअघि पनि ठुलो दुर्घटना
गत बुधबार मात्र अमेरिकाको वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो।
अनुसन्धान सुरु
अमेरिकी नागरिक उड्डयन प्राधिकरण (FAA) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले दुर्घटनाको विस्तृत छानबिन सुरु गरेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबी वा पाइलट त्रुटि भएको अनुमान गरिएको छ।
अमेरिकामा बढ्दै गएका यस्ता दुर्घटनाहरूले हवाई सुरक्षामा चुनौती खडा भएको भन्दै विशेषज्ञहरूले गम्भीर सुरक्षा सुधारको आवश्यकता औंल्याएका छन्।


