लुइसियाना: लुइसियाना राज्यको स्वास्थ्य विभागले अमेरिकामा बर्ड फ्लूका कारण पहिलो मानव मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुने व्यक्ति ६५ वर्षभन्दा माथिको रहेको र उनको प्रतिरोधी क्षमता कमजोर रहेको जनाइएको छ।
स्वास्थ्य विभागका अनुसार चरा, कुखुरा, हाँसजस्ता पंक्षी तथा अन्य पशुहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिहरू बर्ड फ्लूको उच्च जोखिममा पर्ने खतरा रहन्छ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) का तथ्याङ्कअनुसार अमेरिकामा अहिलेसम्म बर्ड फ्लूका ६६ मानव संक्रमितको रिपोर्ट गरिएको छ। तीमध्ये अधिकांश केसहरू जोखिमयुक्त कार्य वातावरण वा पंक्षीसँगको प्रत्यक्ष सम्पर्कका कारण भएको देखिएको छ।
हालसम्म अमेरिकाका क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङ्गटन, विस्कन्सिन, र टेक्सासमा बर्ड फ्लूका संक्रमित भेटिएका छन्।
लुइसियानामा देखिएको यो केस अमेरिकामा मानवमा बर्ड फ्लू संक्रमण पुष्टि भएको पहिलो केस हो। विशेषज्ञहरूले संक्रमण नियन्त्रणका लागि सचेत रहन र जोखिम क्षेत्रमा काम गर्ने श्रमिकहरूले व्यक्तिगत सुरक्षा उपकरण (PPE) अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सल्लाह दिएका छन्।
बर्ड फ्लू संक्रमणको लक्षणहरू:
बर्ड फ्लूका संक्रमितमा सामान्यतया निम्न लक्षणहरू देखिन्छन्:
उच्च ज्वरो
खोकी वा घाँटी दुख्ने
टाउको दुख्ने
मांसपेशी दुखाइ
सास फेर्न गाह्रो हुने
सावधानीका उपायहरू:
संक्रमित पंक्षी वा जनावरसँग प्रत्यक्ष सम्पर्क नगर्नु।
मास्क र पञ्जा प्रयोग गर्नु।
मासु वा अण्डा राम्ररी पकाएर मात्रै उपभोग गर्नु।
कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनु।
विश्व स्वास्थ्य संगठन (WHO) ले समेत बर्ड फ्लूका सम्भावित महामारी रोक्नका लागि सर्तकता अपनाउन सबै देशहरूलाई आग्रह गरेको छ।