Friday, February 7, 2025
Homeअन्तराष्ट्रियअमेरिकामा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको विरोध

अमेरिकामा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको विरोध

काठमाडौं: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा ४७ औं राष्ट्रपति पदको सपथ ग्रहण गर्ने तयारी गरेका छन्। उनको सपथ ग्रहणलाई लिएर देशभर चासो र विरोध प्रदर्शन दुवै बढेको छ।

विरोध प्रदर्शन र ‘पिपल्स मार्च’
सपथ ग्रहणको मिति नजिकिँदै गर्दा देशका विभिन्न भागमा ट्रम्पविरुद्ध प्रदर्शन भइरहेका छन्। शनिबार मात्रै राजधानी वासिङ्टन डीसीमा गैरसरकारी संस्थाहरूको समूहले ‘पिपल्स मार्च’ आयोजना गर्दै ट्रम्पको नीतिविरुद्ध विरोध जनाएका छन्। प्रदर्शनकारीहरूले ट्रम्पबाहेक एलन मस्क र उनका निकट सहयोगीहरूको गतिविधिप्रति पनि विरोध जनाउँदै पोस्टर र ब्यानर प्रदर्शन गरेका थिए।

ट्रम्पको सपथ ग्रहणको विरोध नयाँ होइन। यसअघि, २०१७ मा पहिलो कार्यकालको सपथ ग्रहणको समयमा पनि यस्तै विरोध प्रदर्शन भएका थिए।

ट्रम्पको वासिङ्टन आगमन
सपथ ग्रहणका लागि ट्रम्प शनिबार फ्लोरिडाको वेस्ट पाम बीचबाट वायुसेनाको सी-३२ विमानमार्फत वासिङ्टन पुगेका छन्। यो उडानलाई ‘स्पेशल एयर मिशन ४७’ नाम दिइएको थियो, जसले ट्रम्पलाई अमेरिकाको ४७ औं राष्ट्रपति भएको संकेत गर्दछ। उनीसँगै उनकी श्रीमती मेलानिया ट्रम्प र छोरा ब्यारोन ट्रम्प पनि वासिङ्टन पुगेका छन्।

विशेष विमान उपलब्ध गराउने परम्पराअनुसार, यसपटक निवर्तमान राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई यो सुविधा प्रदान गरेका छन्। यो परम्पराले सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई प्रतिबिम्बित गर्दछ। तर, २०२१ मा ट्रम्पले बाइडेनलाई यस्तो व्यवस्था नगरेका कारण बाइडेनले निजी विमान प्रयोग गर्नुपरेको थियो।

सपथपछि कार्यकारी आदेशहरूको तयारी
डोनाल्ड ट्रम्पले सपथ ग्रहणपछि पहिलो दिनमै १०० भन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना बनाएका छन्। उनका सहयोगीहरूले यी आदेशहरू पहिले नै तयार गरेका छन्, जसलाई ओभल अफिसमा ट्रम्पको टेबलमा राखिनेछ।

ट्रम्पका योजनामा सामेल कार्यकारी आदेशहरूमध्ये प्रमुख रूपमा निम्न बुँदाहरू रहन सक्छन्:

मेक्सिको सीमा सिल गर्ने।
गैरकानुनी आप्रवासीहरूको देश निकाला।
ट्रान्सजेन्डर व्यक्तिहरूलाई महिला खेलकुदमा भाग लिन रोक लगाउने।
कार्यकारी आदेश भनेको राष्ट्रपतिको विशेषाधिकार अन्तर्गत जारी हुने कानूनी आदेश हो, जसका लागि कांग्रेसको स्वीकृति आवश्यक पर्दैन। यद्यपि, यस्ता आदेशहरूलाई अदालतमा चुनौती दिन सकिन्छ।

सत्तारोहणसँगै नयाँ अध्याय
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल कडा नीति र विवादास्पद निर्णयले भरिने अपेक्षा गरिएको छ। यसले अमेरिकी समाज र राजनीतिमा थप ध्रुवीकरण ल्याउने संकेत देखिन्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका