Thursday, December 12, 2024
Homeमुख्य समाचार‘अब पनि बेड नपाएर संक्रमितको मृत्यु भए राज्यको अपराध ठहरिनेछ’

‘अब पनि बेड नपाएर संक्रमितको मृत्यु भए राज्यको अपराध ठहरिनेछ’

केही अगाडि संक्रमण दर घट्दै जाँदा पनि हामी जोखिममुक्त भएका थिएनौं । समुदायमा संक्रमणका स्रोत विद्यमान थिए । त्यो रहेसम्म फैलिने जोखिम रहन्छ नै । त्यो बेला पनि हामीले ‘जनस्वास्थ्यको मापदण्ड पालनामा लापरबाही गर्न मिल्दैन है,’ भनिरहेकै थियौं, तर राम्ररी मापदण्ड पालना गर्न सकेनौं । त्यसको परिणाम अहिले देखिएको छ ।

पहिले जस्तै अहिले पनि भारतबाट आउने नेपाली संक्रमणको स्रोत बनेका छन् कि भन्ने शंका छ । यसको मतलब नेपालभित्र संक्रमणको स्रोत थिएन भन्ने होइन । भारतमा भएको संक्रमण विस्तार पनि हाम्रो लागि चुनौतीपूर्ण छ । अहिले भाइरसको नयाँ भेरियन्ट र दोस्रो लहर भन्ने शब्द चर्चामा छ । नेपालमा भाइरसको नयाँ भेरियन्ट पुष्टि भए पनि त्यसको मात्रा थाहा भएको छैन ।

नयाँ भेरियन्टको आफ्नै जैविक विशेषता छ । त्यसैको कारणले मात्र हामी अहिले जोखिममा छौं भन्न जायज हुँदैन । यो बढी संक्रामक भएकाले बढी सतर्क हुनुपर्छ, तर सुरक्षा मापदण्ड अपनाएनौं भने पुरानै भाइरस संक्रमण विस्तार गर्न काफी हुन्छ । त्यसकारण नयाँ भेरियन्टभन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकोमा बढी चिन्तित छु ।

मैले पहिल्यैदेखि भन्दै आएको छु- हामीले नीति त बनायौं तर कार्यान्वयन गर्न चुक्यौं । अहिले पनि भीडभाड नगर्न/नगराउन भनिएको छ, तर भीडभाड कम गराउनेतर्फ सरकारबाट कुनै किसिमको अनुगमन, निगरानी भएको छैन । भारतबाट आउने नेपालीका लागि सीमामा व्यवस्थित व्यवस्थापन भएन ।

हामी नागरिकको भूमिका पनि गैर-जिम्मेवार भएको छ । हामी स्वास्थ्य सुरक्षाको प्रावधान नअपनाई भोज र सामाजिक जमघटमा सामेल भयौं, भइरहेका छौं । नेताको राजनीतिक जमघट त्यस्तै छ ।

सरकारकै तर्फबाट ‘हामीले कोरोनालाई जित्यौं’ भन्ने खालको सन्देश जान थालेकाले जनस्वास्थ्यका कार्यक्रम कार्यान्वयन हुन छाडे । संक्रमण भेटिइरहँदा कन्ट्याक्ट ट्रेसिङ गर्न छाडियो । परीक्षणको दायरा अत्यन्तै साँघुरो भयो । अनि आम नागरिकमा महामारी सकियो भन्ने खालको मनोविज्ञान बन्यो । सरकार, व्यवसायी, नागरिक सबैको लापरबाही मिसिएर अहिलेको अवस्था आयो ।

सरकारको गतिविधि, नागरिकको व्यवहार र पछिल्लो तथ्यांक हेर्दा महामारी कसरी टुङ्गिन्छ भन्ने कुरा यकिन भन्न सकिन्न । हामी (राज्य र नागरिक) ले गर्ने व्यवहारले भाइरसको भविष्य निर्धारण हुन्छ । हामीले संक्रमण विस्तार रोक्ने कार्यक्रममा चुस्तता देखाउन सकेनौं भने संक्रमण हिजो पनि घातक थियो, घातक नै रहन्छ । बुझ्नैपर्ने कुरा, जनस्वास्थ्यको मापदण्ड पालना महामारी नियन्त्रणको लागि सबभन्दा महत्वपूर्ण हुन्छ ।

सरकारका विभिन्न निकायको सहकार्यमा कमी देखिएको छ । नेपालको सन्दर्भमा यस्तो हुनु आश्चर्य होइन दुःखलाग्दो कुरा हो । विपत्को बेला पनि सरकार चुस्त रूपमा आएन । महामारीसँग लड्न स्वास्थ्य मन्त्रालयसँगै सरकारका अन्य विभिन्न निकाय अग्रसर हुनुपर्छ । यो बेला स्वास्थ्य मन्त्रालयको विशेष जिम्मेवारी हुन्छ । त्योसँगै सरकारका विभिन्न निकायबीच प्रभावकारी संयोजन हुनुपर्ने हो । सरकारका सबै निकाय जिम्मेवारपूर्वक सक्रिय भइदिए नागरिकले डरमा बाँच्नुपर्दैन ।

दोस्रो चरण महामारीको स्वाभाविक प्रक्रिया हो । रोकथामको विधिलाई प्रभावकारी बनाएर भाइरसको चरणलाई कमजोर बनाउने हो । भाइरस प्राकृतिक रूपमा आफैं कमजोर हुँदै जान्छ भन्ने प्रमाण फेला नपरेकोले यसलाई जनस्वास्थ्यको विधि अपनाएर कमजोर पार्नुपर्छ । विस्तार हुन पाएन भने भाइरसको प्राकृतिक मृत्यु हुन्छ ।

महामारीको जटिलता आउँदैछ भन्दै गर्दा हिजोको तुलनामा आज आशावादी हुनुपर्ने कुराहरू पनि छन् । हिजो प्रकोप शुरू हुँदा हामीसँग यथेष्ट प्रयोगशाला, परीक्षण गर्ने किटहरू थिएनन् । स्वास्थ्यकर्मी र भौतिक संरचनाको कमी थियो । अनुभवको पनि कमी थियो । अहिले हामीसँग केही संरचना, तालिमप्राप्त र अनुभवी जनशक्ति पनि छ । खोपले एक ढंगको आत्मविश्वास दिएको छ । हामीले पहिलेका कमी-कमजोरीबाट पाठ पनि सिकेका छांै । कमी-कमजोरी विश्लेषण गरेर सुधार गर्नुपर्छ ।

अब पहिलो कुरा- हामीले तत्कालै आयातित केसहरूलाई व्यवस्थापन गर्नुपर्छ । ती अहिले पनि संक्रमणको स्रोत बनिरहेका छन् । आयातित केस भनेको सीमा नाकाको व्यवस्थापन हो । पहिला सीमा नाका बन्द गरेर गल्ती गरेका थियौं । सीमा बन्द गरेर मानिसलाई रोक्न खोज्दा कोरोना नियन्त्रणमा प्रभावकारी नभएर एकदम पीडादायी मात्र भएको थियो । यतिखेर सीमा व्यवस्थापन भनेको क्वारेन्टिन हो । पारिबाट आउनेलाई होल्डिङ सेन्टर या क्वारेन्टिनमा राख्ने व्यवस्था गरेर धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।

सीमा व्यवस्थापनको अर्को पाटो भनेको विस्तारित परीक्षण हो । हिजो हामीसँग स्रोत अभाव हुँदा सिमानामा पर्याप्त परीक्षण गर्न सकेनौं । आज सरकारले चाहृयो भने पर्याप्त परीक्षण गर्न सक्ने अवस्था छ । परीक्षणमा पोजेटिभ देखिएका केसहरूलाई एकदम प्रभावकारी व्यवस्थापन गर्नुपर्छ । हिजो जस्तो भद्रगोल क्वारेन्टिन भयो भने यसपटक पनि सीमामा संक्रमणले धेरै क्षति गर्न सक्छ ।

हिजो होम आइसोलेसनको व्यवस्थापनमा कमजोरी रहँदा पनि संक्रमण विस्तार भयो । त्यसबाट पाठ सिक्नै पर्छ । अब सामान्य संक्रमितलाई होम आइसोलेसनमै राख्ने अवस्था हटाउनुपर्छ । होम आइसोलेसनमै राख्ने भए अनुगमन-निगरानी प्रभावकारी हुनुपर्छ । त्यसका लागि संस्थागत आइसोलेसनको व्यवस्थापन गर्नुपर्छ ।

हिजो संस्थागत आइसोलेसनमा हामीले गर्न नसकेका काम धेरै थिए । त्यहाँ लक्षण भएका संक्रमित पनि बस्न सक्छन् । आवश्यक पर्दा सामान्य उपचार गर्ने सुविधा त्यही हुनुपर्छ । तुरुन्त अस्पताल लैजान सक्ने व्यवस्था पनि हुनैपर्छ । भौतिक दूरी कायम हुने गरिको व्यवस्थापन त हुनैपर्छ ।

हामीसँग आˆनै समुदायमा संक्रमणको सम्भावना छ । त्यसको लागि जनस्वास्थ्यका अरू विधिहरूको प्रभावकारी कार्यान्वयन, निगरानी र अनुगमन हुनुपर्छ । मास्क र सामाजिक दूरीले धेरै हदसम्म जोखिम कम गर्छ । सामाजिक दूरी कायम हुन नसक्ने स्कूल, कलेज, सामाजिक तथा राजनीतिक भेटघाट बन्द गर्नुपर्छ । होटल-रेस्टुरेन्टमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ ।

कोरोना नियन्त्रणका लागि हिजो हामीले कार्यान्वयन गर्न खोजेका नीतिहरूले केही हदसम्म काम गर्‍यो । अर्को पक्षबाट हेर्दा नागरिक धेरै पीडित भए । धेरैको रोजगारी, व्यवसाय गुम्यो । कतिले कोभिडबाहेक अरू रोगहरूको उपचार गर्न पाएनन् । यस्ता कुराहरूको व्यवस्थापन गर्न अहिले नै ध्यान दिनुपर्छ, अरू देशका अनुभवबाट पनि सिक्नुपर्छ ।

दुःखको कुरा, हामीले हिजोको गल्ती फेरि दोहोरिएको देख्दैछौं । जटिलता आउनुभन्दा अगाडि नै खै त काम गरेको ? खै तयारी गरेको ? भाषण बाहेक ठोस काम केही गरेको देखिएको छैन ।

पहिले हामी भाइरससँग अत्यन्तै आतंकित थियांै । कोरोनाबारे पर्याप्त जानकारी नै थिएन । अन्य देशका समाचार डरलाग्दा थिए । आज आत्मविश्वास त बढेको छ, तर दुर्भाग्य त्यो आत्मविश्वास लापरबाहीमा परिणत भएको छ । आत्मविश्वास हुनुपर्छ तर त्यो लापरबाहीमा परिणत हुँदा हामी आफैं संकटमा पर्छौं ।

हिजो पनि हामीले लकडाउन नै समाधान हैन भनेका थियौं । भीडभाड हटाएर भौतिक दूरी बढाउन लकडाउनको परिकल्पना गरिएको हो । भौतिक दूरी बढाउने अरू पनि उपाय छन् । २५ जनाभन्दा बढी भेला नहुनु भनेको पनि भौतिक दूरी बढाउनकै लागि हो । विद्यालय बन्द गर्नु पनि एक चरणको लकडाउन हो । बाहिर निस्कन ठप्प गर्नु मात्र लकडाउन होइन ।

हिजो कतिपय संक्रमितले एकबाट अर्को अस्पताल गर्दागर्दै ज्यान गुमाए । त्यो अवस्था हामी आफैंले देख्यौं, भोग्यौं । अब त्यो गल्ती दोहोरिनुहुन्न । सरकारको क्षमताबाट सबै काम गर्न सम्भव छैन भने निजी संरचना प्रयोग गर्दा हुन्छ, तर त्यसो गर्दा नागरिकको जिम्मेवारीबोध हुनुपर्छ

लकडाउनको विषयमा धेरै गलत बुझाइ व्याप्त भएको छ । हाम्रो चलायमानता घटाउनु लकडाउन हो । त्यसका विभिन्न चरण हुन्छन् । सब कुरा बन्द गर्नु भनेको त लकडाउनको ‘एक्स्िट्रम’ चरण हो । सबै चरण अपनाउँदा संक्रमण विस्तार कम भएन भने ‘एक्स्ट्रिम’ मा जाने हो । लापरबाह बन्दै गयौं भने त्यो चरण आउन सक्छ । लकडाउन नै संक्रमण नियन्त्रण गर्ने अन्तिम अस्त्र वा विकल्प भने होइन । लकडाउन गर्दा अन्य धेरै किसिमका क्षति बेहोर्नुपर्ने हुन्छ ।

निजीतर्फबाट महामारीको उपचार सम्भव हुँदैन । मास्क किनेर लगाउँला, तर आफैं उपचार गर्ने सामथ्र्य हुँदैन । अस्पताल पुर्‍याउने र अस्पतालमा उपचार गर्ने काम चरणबद्ध हुन्छ । हिजो संक्रमितहरू एम्बुलेन्स नपाएर पनि पीडित बने । सरकारले एम्बुलेन्स व्यवस्थापनमा ध्यान नदिंदाको परिणाम थियो, त्यो ।

हिजो कतिपय संक्रमितले एकबाट अर्को अस्पताल गर्दागर्दै ज्यान गुमाए । त्यो अवस्था हामी आफैंले देख्यौं, भोग्यौं । अब त्यो गल्ती दोहोरिनुहुन्न । सरकारको क्षमताबाट सबै काम गर्न सम्भव छैन भने निजी संरचना प्रयोग गर्दा हुन्छ, तर त्यसो गर्दा नागरिकको जिम्मेवारीबोध हुनुपर्छ ।

विगतमा निजी अस्पतालमा उपचार गर्दा लाखौं रुपैयाँ भुक्तानी गर्नु परेको अवस्थाले नागरिक पीडित भएका थिए । कतिको त लाखौं रुपैयाँ खर्च गर्दा समेत ज्यान नजोगिएको कुराहरू बाहिरिएका थिए । त्यसकारण उपचार गर्ने ठाउँ निजी होस् या सरकारी ! त्यसको आर्थिक भार सरकारले लिनुपर्छ । अहिले हामी सामान्य बेलाको कुरा गरिरहेका छैनौं ।

महामारीविरुद्ध लड्ने तयारीबारे नीतिगत दस्तावेज आएको देखिन्न । विगतमा नीतिगत त्रुटि भएका थिए । कोरोना अब सकिन्छ भन्ने मानसिकताबाट सरकारले रणनीति नबनाउँदा ठूलो भूल भएको थियो । अहिले महामारीको दोस्रो लहर विरुद्ध लड्न पनि नीतिगत तयारी देखिएको छैन ।

सरकारले अहिले केही पैसा खर्च गर्न कञ्जुस्याईं गर्‍यो भने पछि यही कारणले २०औं गुणा बढी आर्थिक क्षति हुन्छ । अहिले तयारी गर्ने समय हो, यसमा केही लगानी चाहिन्छ । यस्तो लगानी गर्दा घाटा लाग्यो भन्ने सोच्नु भएन । यस्तो लगानीको त उपयोग भएन भने पनि खुशी मान्नुपर्छ ।

सरकारले तत्कालै कोभिडको डेडिकेटेड अस्पतालहरू तयार पार्नुपर्छ । स्वास्थ्य मन्त्रालयले कोभिडको लागि बेड छुट्याउन अस्पतालहरूलाई आग्रह गरेको सुनेको छु । त्यसरी मिसमास गरेर बिरामी राख्दा पुरानो समस्या दोहिरिरहन्छ । त्यसले समस्या हल गर्दैन, झन् बढाउँछ ।

कोरोनाको लागि छुट्याइएका डेडिकेट अस्पतालहरूमा सबै सेवा हुनुपर्छ भन्ने जरूरी छैन । सबै संक्रमितलाई आईसीयू चाहिन्न । आवश्यक पर्दा आईसीयूमा लैजाने व्यवस्था भने हुनुपर्छ । कति अस्पतालमा अक्सिजन मात्रै राखेर पनि उपचार गर्न सकिन्छ । तर, सामान्य र गम्भीर संक्रमितलाई राख्ने छुट्टाछुट्टै अस्पताल चाहिन्छ ।

अस्पताल वा आईसीयू वा भेन्टिलेटरमा राखिएका सबै संक्रमित घर फर्कन सक्दैनन् । तर, अस्पताल, आईसीयू वा भेन्टिलेटर सुविधा नै नपाएर संक्रमितको ज्यान जाने अवस्था आउन दिनुहुँदैन । त्यो अवस्था आयो भने राज्यले अपराध गरेको ठहरिनेछ । प्रविधि, जनशक्ति र पूर्वाधार नभएर गर्न सकेको छैन भनेर हिजो सरकारले छुट पाएको हो । आज त्यो अवस्था छैन । स्रोतसाधन र जनशक्ति पर्याप्त छ । नभएको तयारी मात्र हो । बहाना बनाउने छुट छैन ।

आसन्न संकटको पूर्वानुमान हुँदाहुँदै सरकारले तदनुरुप तयारी नगरेको देख्दा हामीलाई चिन्तित बनाएको छ । यसले खराब दिनको संकेत गर्छ । स्वास्थ्यमन्त्री स्वयंले असारसम्ममा दैनिक ११ हजार संक्रमित भेटिने र संक्रमित ६ लाख पुग्ने भनिराख्नुभएको छ । त्यस अनुसारको तयारी गरेको भने देखिन्न ।

अब हामी नागरिकले सरकारको गैर-जिम्मेवारपनको आलोचना र तयारीको माग गर्दै आफूले पनि गर्न सक्ने प्रयास गर्न नछाडौं । विश्वका कतिपय देशका जनता असाध्य जिम्मेवार सरकार पाएर ढुक्क छन् । हामीकहाँ त्यस्तो नभएकोले आˆनोतर्फबाट प्रयास बढाऔं ।

अनलाईनखबर बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका