Wednesday, June 3, 2026
Homeखेलकुदअन्नपूर्ण आरोहण दिवस : विश्व पर्वतारोहणको इतिहास बदल्ने हिमालको सम्झनामा विविध कार्यक्रम

अन्नपूर्ण आरोहण दिवस : विश्व पर्वतारोहणको इतिहास बदल्ने हिमालको सम्झनामा विविध कार्यक्रम

गण्डकी । विश्व पर्वतारोहण इतिहासमा विशेष महत्त्व राख्ने अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको दिन जुन ३ लाई गण्डकी प्रदेशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ। अन्नपूर्ण हिमालले पोखरासहित समग्र गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले म्याग्दीको नारच्याङ हुँदै उत्तरी मोहोडाबाट अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो। यही सफलतासँगै विश्व पर्वतारोहण क्षेत्रमा नयाँ अध्याय सुरु भएको मानिन्छ।

आठ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम विश्वको पहिलो सफलतापूर्वक आरोहण गरिएको आठ हजार मिटरभन्दा अग्लो हिमाल हो। अन्नपूर्णको सफल आरोहणपछि मात्रै सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथाको आरोहण सम्भव भएको इतिहासले देखाउँछ।

यस वर्ष पनि अन्नपूर्ण गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति लगायतका संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथनसमेत आयोजना गरेको जनाएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार अन्नपूर्ण हिमालको सफल आरोहणपछि पोखरासहित गण्डकी प्रदेशमा विदेशी पर्यटक आगमन र पर्वतीय पर्यटनको विकासले गति लिएको हो। अन्नपूर्ण क्षेत्र अहिले विश्वप्रसिद्ध पदयात्रा गन्तव्यका रूपमा स्थापित छ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता प्रमुख हिमशृङ्खला रहे पनि पर्वतीय पर्यटनको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको पर्यटन क्षेत्रका सरोकारवालाहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र, पदयात्रा मार्ग, हिमाल आरोहण र साहसिक पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके गण्डकी प्रदेशको पर्यटन क्षेत्रले अझ ठूलो लाभ लिन सक्नेछ।

अन्नपूर्ण क्षेत्र अहिले ‘अन्नपूर्ण सर्किट’, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक–मुल्डे–हिडन लेक लगायतका पदमार्गका कारण स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका