Sunday, August 9, 2026
Homeअन्तराष्ट्रिय१६ वर्षीय किशोरको अनौठो जीवनशैली : चारदेखि सात दिनसम्म पोखरीमै बिताउँछन्

१६ वर्षीय किशोरको अनौठो जीवनशैली : चारदेखि सात दिनसम्म पोखरीमै बिताउँछन्

काठमाडौं । भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लाका १६ वर्षीय इकबाल शेख आफ्नो असामान्य जीवनशैलीका कारण अहिले चर्चामा छन्। उनी लगातार चारदेखि पाँच दिनसम्म र कहिलेकाहीँ सात दिनसम्म पनि पोखरीको पानीमै बसेर समय बिताउने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

स्थानीयका अनुसार इकबाल पछिल्लो करिब पाँच वर्षदेखि घरमा बस्नुभन्दा बेलडाङ्गा सहरका विभिन्न पोखरीमा दिनरात पौडिँदै तथा पानीमै बसेर समय बिताउने गरेका छन्। उनको यस्तो व्यवहार कुनै सोख वा विश्व कीर्तिमान बनाउने प्रयास नभएको बताइएको छ।

इकबालका अनुसार उनको शरीरमा लगातार तीव्र जलन तथा पोल्ने समस्या हुने गर्छ। उनले आफूमा जिन, परी वा कुनै अदृश्य शक्तिको प्रभाव रहेको दाबी गर्दै पानीबाट बाहिर निस्किनेबित्तिकै शरीरमा असह्य जलन सुरु हुने र पानीमा पस्नेबित्तिकै राहत महसुस हुने बताएका छन्।

लामो समयसम्म पानीमा बस्दा उनको हातखुट्टासहित शरीरको छाला सेतो भएको छ। लगातार पानीमा रहनुपर्ने अवस्थाका कारण उनलाई रुघाखोकीको समस्या समेत देखिएको स्थानीयले बताएका छन्।

इकबालले उपचारका लागि स्थानीय ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले निजी अस्पतालमा लगेर उपचार गराउनसमेत समस्या भएको बताइएको छ।

उनको अवस्था सार्वजनिक भएपछि अहिले स्थानीय बासिन्दा उपचारमा सहयोग गर्न अघि सर्न थालेका छन्। दैनिक ठूलो सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारण पोखरीको किनारमा उनलाई हेर्न पुग्ने गरेका छन्। कतिपयले उनलाई चिउरा, बिस्कुटलगायत खानेकुरा समेत उपलब्ध गराउने गरेका छन्।

तर, परिवार तथा स्थानीयले उनलाई घरमा राखेर सामान्य जीवनमा फर्काउन सकेका छैनन्। इकबालको असामान्य अवस्थालाई लिएर स्थानीयमा उनको स्वास्थ्य र सुरक्षाबारे चिन्ता बढेको छ।

विशेषगरी लामो समयसम्म पानीमा बस्नुको वास्तविक कारण के हो र उनको स्वास्थ्यमा कस्तो असर परिरहेको छ भन्ने विषयमा चिकित्सकीय परीक्षण आवश्यक देखिएको स्थानीयको भनाइ छ। हाल इकबालको अवस्था र रहस्यमयी स्वास्थ्य समस्याबारे मुर्शिदाबाद क्षेत्रमा व्यापक चासो उत्पन्न भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका