काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै टोलीको शानदार जितमा महत्वपूर्ण भूमिका खेले।
खेलको छैटौं मिनेटमै कर्नरबाट आएको बललाई आकर्षक हेडमार्फत जाली चुमाउँदै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। त्यसपछि १७औं मिनेटमा नुनो मेन्डेसले गोल थपेपछि पोर्चुगलले २–० को बलियो स्थिति बनायो।
आक्रामक खेल प्रदर्शन गरिरहेको पोर्चुगलका लागि ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–० पुर्याए। पहिलो हाफमै स्पष्ट दबाब बनाएको पोर्चुगलले दोस्रो हाफमा पनि लय कायम राख्यो।
६०औं मिनेटमा उज्वेकिस्तानका अब्दवोहिद नेमातोवबाट आत्मघाती गोल भएपछि पोर्चुगलले चौथो गोल उपहार पायो। खेलको ८७औं मिनेटमा राफाएल लिओले अर्को गोल थप्दै ५–० को फराकिलो जित सुनिश्चित गरे।
यसअघि पहिलो खेलमा कङ्गोसँग बराबरी खेलेको पोर्चुगलले यो जितसँगै चार अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ।
विश्वकपअन्तर्गत आजै समूह चरणका अन्य महत्वपूर्ण खेलहरू पनि हुँदैछन्। इङ्ल्यान्डले घानाको सामना गर्नेछ भने पानामा र क्रोएसिया तथा कोलम्बिया र कङ्गोबीच प्रतिस्पर्धा हुनेछ।


