Saturday, September 19, 2026
Homeराजनीतिरास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया, शुल्क तथा आवश्यक मापदण्ड सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै विभिन्न पदका उम्मेदवारले बुझाउनुपर्ने शुल्क, प्रस्तावक–समर्थकको संख्या तथा आवश्यक कागजातबारे जानकारी दिएको हो।

आयोगका अनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ निर्धारण गरिएको छ। सभापति पदमा उम्मेदवारी दिन चाहनेले एक जना प्रस्तावक र ५१ जना समर्थक जुटाउनुपर्नेछ।

त्यसैगरी, पार्टी पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। यी दुवै पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।

निर्वाचन आयोगले प्रस्तावक र समर्थक दुवैको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्ने स्पष्ट पारेको छ।

उम्मेदवारी दर्ताका लागि उम्मेदवारले भरिएको मनोनयन फाराम, शुल्क बुझाएको रसिद वा बैंक भौचर, आफूविरुद्ध कुनै अनुशासनात्मक कारबाही नभएको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजका फोटो पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुँदैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका