Wednesday, June 24, 2026
Homeराजनीतिरास्वपा महाधिवेशनः ३८४ उम्मेदवारबीच आज साँझबाट केन्द्रीय सदस्यका लागि मतदान

रास्वपा महाधिवेशनः ३८४ उम्मेदवारबीच आज साँझबाट केन्द्रीय सदस्यका लागि मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज साँझबाट मतदान प्रक्रिया सुरु हुने भएको छ। लामो समयदेखि जारी आन्तरिक प्रक्रियापछि महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ भने निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ बजेसम्म दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ।

दाबी–विरोधमाथिको प्रक्रिया पूरा भएपछि बेलुका ६ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसलगत्तै साँझ ७ः३० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

असार ७ गतेदेखि सुरु भई ९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको छ। मतदान प्रक्रियामा भएको ढिलाइबारे स्पष्ट पार्दै प्रवक्ता झाले व्यवस्थापकीय कमजोरीका कारण केही ढिलासुस्ती भएको स्वीकार गरेका छन्।

उनले पार्टीभित्र अनुभवको कमी र जिम्मेवारी सम्हाल्ने क्रममा भएका व्यवस्थापकीय त्रुटिका कारण कार्यतालिका प्रभावित भएको उल्लेख गर्दै सबै सदस्य महाधिवेशन सफल बनाउन सक्रिय रूपमा जुटिरहेको बताए।

प्रवक्ता झाका अनुसार आवश्यक परेमा दोस्रो चरणको मतदान बिहीबार बिहान ९ बजेदेखि सञ्चालन गरिनेछ। उनले बिहीबारभित्र महाधिवेशनका सम्पूर्ण निर्वाचन तथा सांगठनिक प्रक्रिया सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका