काठमाडौं । नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको दुग्ध विकास संस्थान (डीडीसी) गुणस्तरीय उत्पादनका कारण उपभोक्ताको विश्वास जित्न सफल भए पनि कमजोर ब्रान्डिङ, सीमित बजार प्रवर्द्धन र बढ्दो प्रतिस्पर्धाका कारण बजार विस्तारमा पछाडि परेको छ। संस्थानले अब आधुनिक मार्केटिङ रणनीति, आक्रामक ब्रान्डिङ र नीतिगत सुधारमार्फत आफ्नो बजार हिस्सा पुनः बढाउने तयारी थालेको जनाएको छ।
काठमाडौं दुग्ध वितरण आयोजना बालाजुका प्रमुख चक्रवर्ती पौडेलका अनुसार डीडीसीले वर्षौंदेखि गुणस्तरीय उत्पादन गरे पनि व्यवस्थित विज्ञापन र बजार प्रवर्द्धनमा पर्याप्त ध्यान दिन नसक्दा निजी डेरी उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ।
‘हामीले गुणस्तरीय उत्पादन त दियौँ, तर त्यसलाई प्रभावकारी रूपमा बजारमा स्थापित गर्न सकेनौँ। अहिले आएर ब्रान्डिङ र मार्केटिङको आवश्यकता अझ स्पष्ट भएको छ,’ उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भने।
प्रधानमन्त्रीको पोस्टपछि याक चिजको बिक्री बढ्यो
पौडेलका अनुसार प्रधानमन्त्रीले सामाजिक सञ्जालमा डीडीसीको याक चिज प्रयोग गरेको तस्बिर सार्वजनिक गरेपछि त्यसको बिक्री उल्लेखनीय रूपमा बढेको छ। साथै सरकारी कार्यक्रम र मन्त्रिपरिषद् बैठकमा पनि डीडीसीका दुग्धजन्य उत्पादनको प्रयोग हुन थालेपछि संस्थानले ब्रान्डिङको प्रभाव प्रत्यक्ष रूपमा अनुभव गरेको छ।
उनले अब केन्द्रीय कार्यालयले विज्ञापन, होर्डिङ बोर्ड, डिजिटल प्रचार तथा बजार विस्तारका कार्यक्रम सञ्चालन गर्न बजेटसमेत छुट्याउने तयारी गरेको जानकारी दिए।
खुला दूधको बढ्दो बजार चुनौती
डीडीसीका अनुसार अहिले बजारमा खुला रूपमा बिक्री हुने दूध र दुग्धजन्य पदार्थले सबैभन्दा ठूलो चुनौती सिर्जना गरेको छ। गुणस्तर परीक्षण र मापदण्डबिनै बिक्री हुने खुला दूधका कारण व्यवस्थित उद्योगहरू प्रभावित भएको संस्थानको भनाइ छ।
करिब एक दशकअघि प्याकेज्ड दूध बजारमा डीडीसीको हिस्सा झन्डै ४० प्रतिशत रहेकामा अहिले करिब २० प्रतिशतमा सीमित भएको अनुमान छ। त्यसैगरी, करिब ६० प्रतिशत बजार खुला दूधले ओगटेको प्रारम्भिक अध्ययनले देखाएको पौडेलले बताए।
मोहीको माग उच्च, उत्पादन क्षमता सीमित
डीडीसीका अनुसार पछिल्लो समय सबैभन्दा धेरै माग बढेको उत्पादन मोही हो। स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै चिनी मिसिएका पेय पदार्थको विकल्पका रूपमा मोही रोज्ने उपभोक्ताको संख्या बढेको छ।
तर उत्पादन क्षमता र जनशक्ति सीमित हुँदा मागअनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्दै पौडेलले साउन १ गतेदेखि १ लिटर र ३०० मिलिलिटरका बोतलमा मोही बजारमा ल्याइने जानकारी दिए।
सरकारी निकायबाट बजार सुनिश्चित गर्न आग्रह
डीडीसीले बजार विस्तारका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने माग पनि गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सरकारी अस्पताल, सरकारी क्यान्टिनलगायत सार्वजनिक निकायमा आवश्यक दुग्धजन्य पदार्थ डीडीसीबाट खरिद गर्ने व्यवस्था गरिए संस्थानलाई स्थायी बजार प्राप्त हुने र किसानको दूध पनि सहज रूपमा खपत हुने पौडेलको भनाइ छ।
किसानको भुक्तानीमा सुधार
संस्थानका अनुसार किसानलाई दिने भुक्तानी पनि क्रमशः सुधार हुँदै गएको छ। काठमाडौं दुग्ध वितरण आयोजनाअन्तर्गतका सहकारीहरूको फागुनसम्मको भुक्तानी भइसकेको छ भने हाल चैत, वैशाख र जेठ महिनाको मात्रै रकम बाँकी रहेको पौडेलले बताए।
उनका अनुसार संस्थानको समग्र बक्यौता रकम पनि अघिल्लो तुलनामा उल्लेखनीय रूपमा घटेको छ।
आधुनिक बजार रणनीतिमा केन्द्रित हुने तयारी
आर्थिक चुनौती, पुराना उपकरण र निजी क्षेत्रसँगको प्रतिस्पर्धाका कारण केही वर्ष दबाबमा रहेको डीडीसी अहिले सुधारको चरणमा रहेको संस्थानको दाबी छ। गुणस्तरीय उत्पादनसँगै प्रभावकारी ब्रान्डिङ, विज्ञापन र आधुनिक वितरण प्रणाली अपनाउन सके गुमेको बजार पुनः प्राप्त गर्न सकिने विश्वास डीडीसीको छ।
पौडेलले भने, ‘हामी विस्तारै सुधारको बाटोमा अघि बढिरहेका छौँ। अब गुणस्तरलाई आधुनिक बजार व्यवस्थापनसँग जोड्न सके डीडीसीले नेपाली दुग्ध बजारमा आफ्नो पुरानो प्रभाव पुनः स्थापित गर्न सक्छ।’


