Monday, June 22, 2026
Homeखेलकुदपीएल सिंह टी–२० कप: काठमाडौं र ललितपुरको शानदार जित, आज पोखराको डबल...

पीएल सिंह टी–२० कप: काठमाडौं र ललितपुरको शानदार जित, आज पोखराको डबल चुनौती

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी प्रथम पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दुई खेलमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका विजयी भएका छन्।

दिनको पहिलो खेलमा काठमाडौं महानगरपालिकाले वीरगन्ज महानगरपालिकालाई ६ विकेटले पराजित गर्दै सहज जित हात पार्यो। वर्षाका कारण १५ ओभरमा सीमित खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वीरगन्जले ८ विकेट गुमाएर १११ रन बनाएको थियो।

वीरगन्जका लागि अर्निको प्रसाद यादवले २९ रन, रूपेश कुमार सिंहले अविजित २६ रन तथा अनिल कुमार साहले २२ रन जोडे। काठमाडौंका नितेश कुमारले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।

११२ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। रिञ्जिन लामाले २४ बलमा ४४ रन, सोनु देवकोटाले १८ बलमा ३४ रन तथा इसान पाण्डेले २१ रन बनाए। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सोनु देवकोटा ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको छ।

पहिले ब्याटिङ गरेको भरतपुरले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो। सुर्यान्शु कोइरालाले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा शुभ कंसाकारले २१ र गौतम केसीले १८ रन जोडे। ललितपुरका गणेश गौतमले ३ तथा विधान खतिवडाले २ विकेट लिए।

१७७ रनको लक्ष्य पछ्याएको ललितपुरले ५ बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। विपिन आचार्यले ५३ बलमा अविजित ८२ रनको उत्कृष्ट इनिङ खेल्दा सक्रिय प्रताप कार्कीले १७ बलमा अविजित ३९ रनको महत्वपूर्ण योगदान दिए। सचिन लेखकले ३३ रन बनाए।

भरतपुरका शुभ कंसाकारले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। शानदार ब्याटिङ गरेका विपिन आचार्य ‘प्लेयर अफ दि म्याच’ चुनिए।

प्रतियोगिताअन्तर्गत सोमबार बिहान ९ बजे पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाबीच खेल हुनेछ भने दिउँसो १ बजे पोखरा महानगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका