काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेपाल तथा विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एकअर्कामा शुभकामना आदानप्रदान गर्दै उत्सव मनाइरहेका छन्।
विक्रम संवत् अनुसार हरेक वर्ष वैशाख १ गतेबाट नयाँ वर्ष सुरु हुन्छ। यो संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह–नक्षत्रसँग जोडिएका छन्। पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्दा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने क्षणलाई नयाँ वर्षको सुरुवात मानिन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ।
नयाँ वर्षको अवसरमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। यस दिन मानिसहरूले सफलता र समृद्धिको कामना गर्दै शुभकामना साटासाट गर्ने, मिठाई बाँड्ने र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ।
त्यस्तै, नयाँ वर्षको पहिलो दिन नयाँ योजना बनाउने, सत्संकल्प गर्ने र नयाँ कामको थालनी गर्ने परम्परा पनि रहिआएको छ।


