काठमाडौं । भारतको मुम्बईस्थित पवई क्षेत्रमा चार वर्षीय बालकको आफ्नै बाबुको कुटपिटबाट मृत्यु भएको छ। दूध मागेर रोएको निहुँमा आक्रोशित बनेका बाबुले छोरामाथि कुटपिट गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
पवईको गौतम नगर क्षेत्रमा बिहीबार बिहान भएको घटनामा ज्यान गुमाउने बालक ४ वर्षीय यश रहेको बताइएको छ। उनी परिवारका एक्ला छोरा थिए र शारीरिक रूपमा केही कमजोर रहेको जनाइएको छ।
प्रहरीका अनुसार घटनाका समयमा घरमा बालक र उनका बाबु राजेश सिंह मात्र थिए। बालककी आमा विगत दुई सातादेखि माइतीमा रहेकी थिइन्।
प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार बिहान करिब ५ बजे बालकले दूध मागेका थिए। त्यसपछि बालक रोइरहेका बेला बाबु आक्रोशित बनेर कुटपिट गरेका थिए। कुटपिटका क्रममा बालकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि अभियुक्तले आफ्नी दिदीलाई घटनाबारे जानकारी दिएका थिए। त्यसपछि घटनास्थल पुगेकी दिदीले बालकलाई मृत अवस्थामा देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन्।
उजुरीपछि प्रहरीले राजेश सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्टमा बालकको टाउकोमा गम्भीर चोट र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।
प्रहरीले अभियुक्तलाई अदालतमा उपस्थित गराइसकेको छ भने अदालतले उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिएको जनाएको छ।


