Tuesday, August 25, 2026
Homeअन्तराष्ट्रियझारखण्डमा आतंक मच्चाएको हात्ती: ९ दिनमा २० जनाको मृत्यु, उद्धार अभियान तीव्र

झारखण्डमा आतंक मच्चाएको हात्ती: ९ दिनमा २० जनाको मृत्यु, उद्धार अभियान तीव्र

काठमाडौं । भारतको झारखण्ड राज्यअन्तर्गत पश्चिम सिंहभूम जिल्लाको चाइबासा र कोल्हान वन डिभिजन क्षेत्रमा विगत नौ दिनमा एक जंगली भाले हात्तीको आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । लगातार भएका घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

जिल्ला मजिस्ट्रेट चन्दन कुमारले मृत्युको पुष्टि गर्दै गम्भीर घाइते एक वनकर्मीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएपछि मृतकको संख्या २० पुगेको जानकारी दिए । डिभिजनल वन अधिकारी (डीएफओ) कुलदीप मीणाका अनुसार यो भाले हात्तीका कारण यति ठूलो मानवीय क्षति भएको पहिलो घटना हो । थप जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको उनले बताए ।

वन विभागले तत्काल राहतस्वरूप प्रत्येक मृतक परिवारलाई अन्तिम संस्कारका लागि २० हजार रुपैयाँ सहयोग गरेको छ । साथै, मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेहरूलाई अवस्थाअनुसार अधिकतम १.५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ ।

अधिकारीहरूका अनुसार हात्तीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर जंगलमा फर्काउनु पहिलो प्राथमिकता हो । यसका लागि बंगाल र ओडिशाबाट समेत सहयोग लिइँदै १० विशेष टोली परिचालन गरिएको छ । ड्रोनको प्रयोगसहित ठूलो उद्धार अभियान जारी छ ।

वन अधिकारीहरूका अनुसार हात्ती सम्भवतः ‘मस्ट’ (संभोग अवस्था) मा रहेकाले अत्यधिक आक्रामक बनेको हुन सक्छ । यस अवस्थामा टेस्टोस्टेरोन हार्मोनको मात्रा बढ्दा भाले हात्ती हिंस्रक हुने बताइएको छ । हात्ती आफ्नो बथानबाट अलग भई बस्ती क्षेत्रमा प्रवेश गरेको आशंका गरिएको छ ।

यसैबीच, स्थानीय सामाजिक अभियन्ता मानकी तुबिदले पहिलो घटनापछि समयमै कारबाही नभएकै कारण यति धेरै ज्यान जानुपरेको भन्दै वन विभागको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

जिल्ला प्रशासनले सबै प्रभावित परिवार अत्यन्तै गरिब भएकाले उनीहरूलाई आवास योजनासहित राज्य र केन्द्र सरकारका विभिन्न राहत कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराइने जनाएको छ । स्थानीय बासिन्दालाई राति घरबाहिर ननिस्कन र खुला स्थानमा नसुत्न लगातार सचेत गराइँदै आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका