काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिएका छन्।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले जनताको चाहना पूरा गर्न संसदले प्रभावकारी र परिणाममुखी कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले बनेका कानुनहरूको कार्यान्वयन पनि प्रभावकारी रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताए।
उनका अनुसार जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना तथा देशभित्रै रोजगारी सिर्जनाको अपेक्षा गरेका छन्।
उनले पछिल्लो समय युवा पुस्ताबाट भएको आन्दोलनले पनि यिनै भावना र आकांक्षा उजागर गरेको उल्लेख गर्दै सरकारलाई जनअपेक्षा अनुरूप काम गर्न आग्रह गरे।
राष्ट्रपति पौडेलले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास र सहभागिता बढ्दै गएको स्पष्ट सन्देश दिएको बताए।


