काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई २–१ ले पराजित गर्दै क्रोएसिया उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले समान एक–एक गोल गरे। घानाका डेरिक लुकासेनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
क्रोएसियाले खेलको ३१औँ मिनेटमा पेटार सुचिचको गोलमार्फत अग्रता लिएको थियो। दोस्रो हाफको ७३औँ मिनेटमा डेरिक लुकासेनले घानाका लागि बराबरी गोल गरे। तर, खेलको ८३औँ मिनेटमा लुका मोड्रिचको उत्कृष्ट पासमा निकोला भ्लासिचले हेडमार्फत निर्णायक गोल गर्दै क्रोएसियालाई २–१ को महत्वपूर्ण जित दिलाए।
यस जितसँगै क्रोएसिया समूहको उपविजेताका रूपमा अन्तिम ३२ (नकआउट) चरणमा पुगेको छ।
यता, समूहकै अर्को खेलमा इङ्गल्याण्डले पानामालाई २–० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्यो।
इङ्गल्याण्डका लागि जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि ह्यारी केनले ६७औँ मिनेटमा अर्को गोल थप्दै इङ्गल्याण्डको सहज जित सुनिश्चित गरे।


