काठमाडौं । नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन सबै कम्युनिस्ट घटकले आफ्ना गल्ती र कमजोरीप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन यथार्थवादी सोच र व्यवहार आवश्यक रहेको बताए। जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले भने, ‘कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन। कुरो मात्रै गरेर केही पनि हुनेवाला छैन।’
नेता नेपालले कम्युनिस्ट पार्टीहरू कमजोर हुनुका कारणबारे निर्मम समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बदलिँदो जनमनोविज्ञान बुझ्न नसकिएको हो वा पार्टीभित्र विकृति, व्यक्तिवादी चिन्तन, अहङ्कार र भ्रष्टाचारजस्ता प्रवृत्तिका कारण आन्दोलन कमजोर बनेको हो भन्ने विषयमा गम्भीर आत्ममन्थन गर्नुपर्ने बताए।
‘हामी कहाँ चुक्यौं? विचार, सिद्धान्त वा व्यवहारमा के कमजोरी रह्यो? यी सबै प्रश्नको इमानदार समीक्षा नगरी अघि बढ्न सकिँदैन,’ उनले भने।
उनले आत्मकेन्द्रित सोच र ‘मै हुँ’ भन्ने प्रवृत्तिलाई परास्त नगरेसम्म कम्युनिस्ट आन्दोलन केवल भाषण र गफमै सीमित हुने चेतावनी दिए। समाजवादी क्रान्तिको वर्तमान चरणमा सबै कम्युनिस्ट शक्तिहरू साझा उद्देश्यका साथ एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेता नेपालले जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्व, समस्या पहिचान गर्ने क्षमता, यथार्थमा आधारित कार्यशैली र पार्टी अनुशासनको स्मरण गर्दै प्रशंसा गरे। उनले भण्डारीले प्रतिस्पर्धामा उत्कृष्ट बन्न जोड दिने गरेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद (जबज) का धेरै पक्ष आज पनि सान्दर्भिक रहेको बताए।
अन्त्यमा उनले कम्युनिस्ट आन्दोलनको भविष्य सुदृढ बनाउन मिल्न सक्ने सबै विषयमा सहकार्य र एकता आजको प्रमुख आवश्यकता भएको जिकिर गरे।


