काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने विद्यार्थीहरूको जन्मदर्ता सच्याउन राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
बोर्डले शुक्रबार जारी गरेको सूचनामा शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा चौध वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। कतिपय विद्यार्थीहरूको जन्मदर्तामा उल्लिखित उमेर अवधि नपुग्ने गरी प्रमाणपत्र जारी भएकोले उनीहरू परीक्षाबाट वञ्चित हुने अवस्था सिर्जना भएको थियो।
यससम्बन्धमा अभिभावक, विद्यालय र स्थानीय तहबाट बोर्ड तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अनुरोध भएपछि समाधानको प्रक्रिया सुरु भएको हो।
नेपाल सरकारले बनाएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २५ (१) अनुसार, कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बोर्डले विद्यालयहरूलाई सम्बन्धित स्थानीय तह र स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट माग भएमा कक्षा १ मा भर्ना हुँदाको प्रमाणित अभिलेख उपलब्ध गराई जन्मदर्ता सच्याउन सहयोग गर्न अनुरोध गरेको छ। यो निर्णय मिति २०८२/०८/१५ मा अध्यक्षस्तरीय निर्णयबाट गरिएको हो।
साथै, नाम, थर र जन्ममिति सच्याइएका विद्यार्थीको विवरण ईएमआईएस प्रणालीमा पनि अपडेट गर्न सकिने भएको छ। कक्षा १ देखि ७ का हकमा विद्यालयबाटै र कक्षा ८ का हकमा सम्बन्धित स्थानीय तहबाट विवरण सच्याउन सकिने निर्णय बोर्डले जनाएको छ।



