काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज बिहान ९ बजेबाट सुरु हुँदैछ। बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा आफ्ना धारणा राखिरहेका छन्।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंगलबारसम्म ११८ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखिसकेका छन्। आज बाँकी सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय उपलब्ध गराइएको छ।
बैठकमा नौवटा एजेन्डामाथि छलफल भइरहेको छ। केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी रहेको आचार्यले बताएका छन्। सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ।
बैठकका एजेन्डामा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो गठन तथा स्थायी कमिटी गठनलगायत विषय पनि रहेका छन्।
यसअघि बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा सदस्यहरूले प्रतिवेदन तथा पार्टीका समसामयिक विषयमा धारणा राख्दै आएका छन्।


