Monday, April 20, 2026
HomeNRN चुनाव बिशेषएनआरएनएमा समानान्तर गतिविधिको अभ्यास, संस्थापन पक्ष भेला बिथोल्ने तयारीमा

एनआरएनएमा समानान्तर गतिविधिको अभ्यास, संस्थापन पक्ष भेला बिथोल्ने तयारीमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादका बीच समानान्तर गतिविधिको अभ्यास सुरु भएको छ । एनआरएनएको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय भएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले समानान्तर भेला बोलाएको छ ।

आचार्य पक्षले ‘राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला’ नाम दिएर समानान्तर गतिविधि थालेको हो । यही अक्टोबर २४ का दिन तय गरिएको भेला आयोजक  एनआरएनएका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रहेको भनिएको छ ।

संघभित्र बढ्दो बेथिति र अन्योलतालाई चिर्नका लागि आफूहरुले भेला बोलाएको आचार्य निकट एक एनसीसी अध्यक्षले बताए । सो भेलाका लागि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी संयोजक चयन भएका छन् । उनको संयोजकत्वमा ८ सदस्यीय समिति निर्माण गरिएको छ ।

उता, बहुमत एनसीसीहरुको सहभागिता रहने दाबी गरिएको भेलालाई रोक्न संस्थापन समूह लागिपरेको छ । अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले एनसीसीहरुलाई इमेल गरेर भेलामा सहभागी नहुन निर्देशन जारी गरेका छन् ।

पन्तले आईसीसी सदस्य एनसीसीका अध्यक्षहरूलाई सम्बोधन गरेर पठाएको इमेलमा आफूले सामाजिक सञ्जालमार्फत भेलाबारे जानकारी पाएको र त्यो भेला आधिकारिक नभएकाले उपस्थित नहुन आग्रह गरिएको छ ।

अध्यक्ष पन्तले भनेका छन्, ‘ २४ अक्टोबरका लागि एनसीसीहरुले गर्ने भनिएको भेलामा मेरो नाम पनि जोडिएको पाइएको छ, म यस्तो भेलाको आयोजक होइन । त्यस्तो कुनै पनि भेलामा सहभागी नहुन म सबैलाई अनुरोध गर्दछु ।’

यसैगरी महासचिव शर्माले पनि अक्टोबर २४ को भेला वैधानिक नभएको जिकिर गरेका छन् । उनले सामाजिक संस्थामा अशोभनीय गतिविधि भएको भन्दै छुट्टै भेला गर्ने कार्यलाई रोक्न जरुरी भएको बताएका छन् ।

अध्यक्ष पन्त अहिले संघभित्र देखिएको समस्या समाधान गर्न रात दिन खटिरहेको उल्लेख गर्दै शर्माले आवश्यक पर्दा अहिलेको समस्याको सन्दर्भमा निकास लिन आधिकारिकरुपमै बैठक बोलाउन सकिने पनि बताएका छन् ।

‘अक्टोबर २४ तारिखमा हुने भनिएको एनसीसीको भेलाका बारेमा अध्यक्षले संस्थाको धारणा राखिदिनुभएको छ’, शर्माद्वारा एनसीसीका अध्यक्षहरुलाई प्रेरित गरेको पत्रमा भनिएको छ, ‘अहिलेको समस्या समाधान गर्न अध्यक्ष दिनरात खट्नुभएको छ । यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्नेछ । कोरोना महामारीमा हामीले हप्तैजसो एनसीसीहरुसँग बैठक आयोजना गरेका थियौँ । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसीसीको बैठक आईसीसीले गर्छ ।’

महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद चर्किएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा एनआरएनएको कार्यकाल छ महिना थपिएपछि समस्या समाधान गरिनुको साटो थप समानान्तर गतिविधिको अभ्यास संघभित्र हुन थालेको हो ।

भेलाले संघभित्रको परिस्थितिबारे छलफल गरी स्पष्ट तय गर्ने बताइएको छ । समानान्तर भेलालाई युके, अस्ट्रेलिया, अमेरिका, दक्षिण कोरियालगायतका ठूला एनसीसी समेतको समेत साथ रहेको बताइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका