इस्लामावाद । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ते अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधि एउटै स्थानमा भेला भएका हुन्।
वार्तामा तीन मुख्य विषयलाई प्राथमिकता दिइएको छ—अस्थायी युद्धविरामलाई स्थायी बनाउने, सैन्य झडप पूर्ण रूपमा अन्त्य गर्ने, र विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जलमार्ग सुरक्षित र खुला राख्ने। साथै, अमेरिकाले इरानको परमाणु हतियार विकास क्षमताको अन्त्य र उच्च संवर्धित युरेनियम भण्डार हटाउनुपर्ने सर्त अघि सारेको छ।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भ्यान्सले गरिरहेका छन् भने राष्ट्रपतिका विशेष दूत स्टिभ विट्कोफ र जारेड कुश्नर पनि टोलीमा सहभागी छन्। इरानी टोलीको नेतृत्व संसद्का सभामुख बाघेर कलिबाफले गरिरहेका छन्, जसमा विदेशमन्त्री अब्बास अराघची पनि सहभागी छन्।
वार्ताको मध्यस्थता पाकिस्तानले गरिरहेको छ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले दुवै पक्षसँग छुट्टाछुट्टै भेट गर्दै यस वार्ताबाट दीर्घकालीन शान्तिको आधार तयार हुने विश्वास व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई वार्ताको आधार मान्न सकिने बताएका छन्, तर इरानले वार्तामा बार्गेनिङ गरिरहेको आरोप पनि लगाएका छन्। यता, इरानले लेबनानमा जारी आक्रमण रोक्न र आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने माग दोहोर्याएको छ।
सन् १९७९ पछि यो नै अमेरिका–इरानबीचको सबैभन्दा उच्चस्तरीय प्रत्यक्ष वार्ताको प्रयास मानिएको छ। दुवै पक्षका कडा सर्तका कारण वार्ता जटिल हुने र ठोस नतिजा आउन समय लाग्ने विश्लेषण गरिएको छ।


