एजेन्सी । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको अमेरिका–इरान वार्तामा इजरायलको हितलाई प्राथमिकता दिइए कुनै सम्झौता नहुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा उनले लेखेका छन्, “यदि वार्तामा ‘इजरायल प्रथम’ को पक्षमा आवाज उठाइयो भने इस्लामाबादमा कुनै सम्झौता हुनेछैन। हामी आफ्नो प्रतिरक्षा अझ बलियो बनाउनेछौँ र त्यसको मूल्य विश्वले चुकाउनुपर्नेछ।” उनले दुवै पक्षका लागि न्यायसंगत र लाभदायक सम्झौता सम्भव रहेको पनि बताएका छन्।
संसदका सभामुख मोहम्मद बाकर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोली इस्लामाबाद पुगेसँगै यस्तो टिप्पणी आएको हो। वार्ताको उद्देश्य मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने रहेको जनाइएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानसहित विभिन्न इरानी सहरमा संयुक्त आक्रमण गरेका थिए, जसमा उच्च सैन्य अधिकारी तथा नागरिकको ज्यान गएको थियो। त्यसपछि इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र बनाउँदै स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रण बलियो बनाएको छ।
दुवै देशबीच दुई साताको युद्धविराम लागू भइसके पनि इजरायलले लेबनानमा जारी द्वन्द्व त्यसमा नपर्ने बताएको छ। पछिल्लो आक्रमणमा लेबनानमा ठूलो मानवीय क्षति भएको जनाइएको छ।
इरानले वार्ताअघि आफ्ना रोक्का गरिएका सम्पत्ति फुकुवा गर्न र लेबनानमा युद्धविराम लागू गर्न माग गरेको छ। यद्यपि अमेरिकी पक्षले यस्तो सहमति भएको भन्ने दाबी अस्वीकार गरेको छ।


