Saturday, May 2, 2026
Homeमुख्य समाचारआज बालेन शाह प्रधानमन्त्रीको शपथ लिँदै

आज बालेन शाह प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथ ग्रहण समारोहमा १०८ जना बटुकद्वारा स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ तथा ७ वटा शंखबाट शंखनाद गरिनेछ।

शपथ अघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल सरकार गठन हुन लागेको हो।

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ।

यद्यपि बिहान ८ः३० बजेसम्म मन्त्रिपरिषद्का सदस्यबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रीहरूको टुंगो लाग्ने प्रक्रिया जारी छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। सोही दलले बिहीबार बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।

झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका शाहलाई बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका