काठमाडौं । लामो समयदेखिको आर्थिक मन्दी र हालैको भीषण बाढीका कारण प्रभावित नेपाली अर्थतन्त्रलाई पुनः गतिशील बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रणनीतिक योजना अघि सार्ने बताएका छन्।
बीबीसीसँगको अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई संकटबाट बाहिर निकाल्न सरकारले स्पष्ट रोडम्याप तयार पारेको बताएका हुन्। उनका अनुसार मन्दीका कारण समस्यामा परेको निजी क्षेत्र र बाढीबाट थपिएको चुनौतीलाई सम्बोधन गर्न सरकारले पाँच मुख्य क्षेत्रमा प्राथमिकताका साथ काम गर्नेछ।
बिजनेस रिकभरी प्याकेज
बाढीबाट प्रभावित साना तथा ठूला व्यवसायीलाई राहत दिन मन्त्रिपरिषद्बाट बिजनेस रिकभरी प्याकेज पारित भइसकेको अर्थमन्त्री वाग्लेले बताएका छन्। उक्त प्याकेजले संकटमा परेका उद्योगी–व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने उनको विश्वास छ।
पुँजी बजारमा सुधार
सेयर बजारलाई व्यवस्थित, पारदर्शी र सुदृढ बनाउन सरकारले विशेष सुधार योजना अघि बढाएको छ। लगानीकर्ताको मनोबल कायम राख्दै पुँजी बजारलाई थप भरपर्दो बनाउने सरकारको उद्देश्य रहेको उनले बताए।
निजी क्षेत्रको पुनरुत्थान
निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै सरकारले आर्थिक सहुलियत तथा लगानी प्रोत्साहनका विभिन्न प्याकेज ल्याउने योजना बनाएको छ। यसबाट सुस्त रहेको बजारमा लगानी र व्यावसायिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
एफएटीएफ ग्रे सूचीबाट जोगिने रणनीति
नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ग्रे सूचीमा पर्नबाट जोगाउन सरकारले तीव्र गतिमा काम गरिरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। यसका लागि आवश्यक कानुनी तथा संरचनात्मक सुधारलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय स्रोत व्यवस्थापन
बाढीबाट भएको क्षतिको यकिन मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारले अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग समन्वय गरिरहेको छ। वैदेशिक सहायता तथा अनुदानलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्ने सरकारको योजना रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले नेपाल अहिले चुनौतीपूर्ण अवस्थामा रहे पनि सरकारको प्रभावकारी हस्तक्षेप र अन्तर्राष्ट्रिय समुदायको सहयोगबाट अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने विश्वास व्यक्त गरेका छन्।
‘हामी केवल संकट टार्न मात्र होइन, अर्थतन्त्रको संरचनामै सुधार गरेर दिगो विकासको बाटोमा जान प्रतिबद्ध छौँ,’ उनले भने।


