काठमाडौं । अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिकै एक व्यक्तिले कार ठोक्काएपछि सुरक्षा सतर्कता बढाइएको छ । घटनापछि चालकले सिक्रेट सर्भिसका अधिकारी र नेसनल गार्डका जवानसँग झडपसमेत गरेका थिए । त्यसपछि ह्वाइट हाउसमा केही समयका लागि लकडाउन गरिएको थियो ।
घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै उपस्थित थिए । घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।
अनलाइनमा सार्वजनिक भएको भिडियो फुटेजअनुसार एउटा सिल्भर सेडान कार लाफायेट स्क्वायरको उत्तरी छेउमा रहेको पक्की बाटोमा पुगेर साइनपोस्टमा ठोक्किएको थियो । ठक्करपछि कारबाट सेतो धुवाँ निस्किएको देखिएको थियो ।
स्थानीय समयअनुसार बिहान करिब १० बजे अमेरिकी सिक्रेट सर्भिसले ह्वाइट हाउस प्रेस कोरका सदस्यहरूलाई भवनभित्रै बस्न निर्देशन दिएको थियो । घटनापछि सुरक्षाकर्मीहरूले तत्काल सुरक्षा व्यवस्था कडा पारेका थिए ।
सुरक्षाकर्मीसँग झडप भएपछि कार चालकलाई नियन्त्रणमा लिइएको थियो । घटनामा पक्राउ परेका व्यक्तिहरूको पहिचान, दुर्घटनाको कारण र सम्भावित उद्देश्यबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । अमेरिकी सुरक्षा निकायले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
लाफायेट स्क्वायर ह्वाइट हाउसको ठीक अगाडि पेन्सिलभेनिया एभिन्यु पारि अवस्थित सार्वजनिक क्षेत्र हो । राष्ट्रपति भवन नजिकै रहेको यस स्थानमा भएको घटनापछि आसपासका क्षेत्रमा अस्थायी रूपमा आवागमन प्रतिबन्ध लगाइएको थियो ।
ह्वाइट हाउसको सुरक्षा व्यवस्था
ह्वाइट हाउसको सुरक्षा विश्वकै कडा सुरक्षा व्यवस्थामध्ये एक मानिन्छ । यसको प्रमुख जिम्मेवारी अमेरिकी सिक्रेट सर्भिससँग छ । राष्ट्रपति र उनको परिवारको सुरक्षाका लागि प्रेसिडेन्सियल प्रोटेक्टिभ डिभिजन खटिएको हुन्छ भने युनिफर्म्ड डिभिजनले ह्वाइट हाउस परिसरको सुरक्षा गर्छ ।
ह्वाइट हाउसमाथि आक्रमण, घुसपैठ, गोलीबारी वा विस्फोटक पदार्थको आशङ्का देखिएमा सिक्रेट सर्भिसले तत्काल आपत्कालीन सुरक्षा व्यवस्था सक्रिय बनाउँछ । आवश्यकताअनुसार राष्ट्रपतिलाई सुरक्षित स्थानमा लैजाने वा सुरक्षित राख्ने व्यवस्था गरिन्छ ।
यस्ता अवस्थामा इमर्जेन्सी रिस्पोन्स टिम, काउन्टर असाल्ट टिम र काउन्टर स्नाइपर युनिटजस्ता विशेष टोली परिचालन हुन सक्छन् । शङ्कास्पद वस्तुको जाँचका लागि बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिन्छ । आवश्यकताअनुसार स्थानीय प्रहरी, दमकल र स्वास्थ्यकर्मीको सहयोग पनि लिइन्छ ।