हर्मुज जलडमरुमध्यमा दुई तेल ट्याङ्करमा विस्फोट, ४० लाख ब्यारेलभन्दा बढी तेल बोकेको दाबी

हर्मुज जलडमरुमध्यमा दुई तेल ट्याङ्करमा विस्फोट, ४० लाख ब्यारेलभन्दा बढी तेल बोकेको दाबी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले हर्मुज जलडमरुमध्यको दक्षिणी मार्ग हुँदै गइरहेका दुई तेल ट्याङ्कर विस्फोटपछि रोकिएको जनाएको छ।

बीबीसी पर्सियनका अनुसार आईआरजीसीको नौसेना जनसम्पर्क विभागले बुधबार राति उक्त घटना भएको जानकारी दिएको हो। विभागले घटनालाई ‘भयानक विस्फोट’को संज्ञा दिएको छ।

आईआरजीसीका अनुसार दुवै जहाज सुपर ट्याङ्कर थिए। ती जहाजमा संयुक्त रूपमा ४० लाख ब्यारेलभन्दा बढी तेल रहेको दाबी गरिएको छ।

आईआरजीसीले दुवै ट्याङ्करले दक्षिणी समुद्री मार्ग प्रयोग नगर्न पटकपटक दिइएको चेतावनी बेवास्ता गरेको आरोप लगाएको छ। उसले उक्त मार्गलाई ‘अवैध र असुरक्षित’ भन्दै जहाजहरूलाई आफूले निर्धारण गरेको मार्ग प्रयोग गर्न निर्देशन दिएको छ।

इरानले हर्मुज जलडमरुमध्य पार गर्ने जहाजहरूले आफ्नो नौसेनाले तोकेको समुद्री मार्ग नै प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ।

रिपोर्टहरूका अनुसार इरानले घोषणा गरेका प्रतिबन्ध तथा नियन्त्रणबाट बच्न केही जहाज र तेल ट्याङ्करले वैकल्पिक समुद्री मार्ग प्रयोग गरिरहेका छन्।

हर्मुज जलडमरुमध्य विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। यहाँ हुने कुनै पनि सुरक्षा घटनाले अन्तर्राष्ट्रिय तेल आपूर्ति तथा विश्व बजारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!