रसुवा । नेपाल एकीकरण अभियानसँग ऐतिहासिक सम्बन्ध जोडिएको रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँस्थित ऐतिहासिक पौवाघर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। २०७२ सालको गोरखा भूकम्पपछि थप जोखिममा परेको यस सम्पदाको समयमै मर्मत तथा सम्भार हुन नसक्दा ऐतिहासिक अस्तित्व नै मेटिने चिन्ता बढेको छ।
गोसाइँकुण्ड तीर्थयात्राको पुरानो पदमार्गमा पर्ने यो पौवाघर लामो समयदेखि बेवारिसे अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ। ऐतिहासिक महत्त्व बोकेको संरचना भत्किने अवस्थामा पुग्दासमेत सरोकारवाला निकायले पर्याप्त ध्यान नदिएको स्थानीय अगुवाहरू बताउँछन्।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ऐतिहासिक आस्था र पहिचान बोकेको यस धरोहरलाई जीवन्त राख्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको बताएका छन्। वडा नं. ५ का वडाध्यक्ष यमनाथ आचार्यले सीमित स्रोतसाधनका बीच सम्पदा संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिएका छन्।
ऐतिहासिक दस्तावेज तथा स्थानीय किंवदन्तीअनुसार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा युद्धमा विजय प्राप्तिको कामनासहित धैबुङमा बस्ने सिद्ध योगी अगस्तिबाट खड्गसिद्धि प्राप्त गरेका थिए। त्यसको कृतज्ञतास्वरूप शाहले अगस्तिलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीका रूपमा बिर्ता दिएको इतिहास छ।
सिद्ध योगी अगस्तिले आफ्नी धर्मचेली गौरादेवीलाई उक्त भूमि कुश बिर्ताका रूपमा प्रदान गरेका थिए। गौरादेवीले बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजापाठ गर्ने तथा बेत्रावतीको माथिल्लो भाग माझगाउँमा पौवाघर बनाएर गोसाइँकुण्ड आउजाउ गर्ने तीर्थयात्रीलाई सातु–सामल र बासको व्यवस्था गर्ने सर्तमा उक्त गुठी प्राप्त गरेकी थिइन्।
त्यसै समयमा डाँडाको लहरैमा तीनवटा पौवाघर निर्माण गरी तीर्थयात्रीलाई सेवा दिइएकाले यस बस्तीको नाम ‘लहरै पौवा’ रहन गएको र पछि अपभ्रंश हुँदै ‘लहरेपौवा’ भएको स्थानीय बताउँछन्।
धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र तीर्थाटन परम्पराको इतिहास बोकेको यस सम्पदालाई मौलिक स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ।
भावी पुस्तालाई ऐतिहासिक पहिचान हस्तान्तरण गर्न राज्य, स्थानीय तह र समुदायको सहकार्यमा पौवाघरको तत्काल संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाहरूले जोड दिएका छन्।