बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्क, नौ महिनामा १२ बाख्रा मारिए

बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्क, नौ महिनामा १२ बाख्रा मारिए

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि स्थानीय किसान समस्यामा परेका छन्। पछिल्लो नौ महिनामा चितुवाको आक्रमणबाट पाँच किसानका १२ वटा बोका तथा बाख्रा मारिएका छन्। दुम्सीले खेतीबालीसमेत नष्ट गर्न थालेपछि स्थानीयको पशुपालन र कृषि व्यवसाय सङ्कटमा परेको छ।

दमेकको गौडा, भैँसेखर्क र टापुका करिब २५ घरधुरी पशुपालन तथा खेतीपातीमा निर्भर छन्। चितुवाले स्थानीय किसान गङ्गाधर सापकोटाका दुई बोका र एक पाठी, रत्न परियारका तीन बोका तथा बाख्रा, नारायण सापकोटाका दुई, मेहन्द्र हमालका दुई र गङ्गाबहादुर ठकुरीका दुई बाख्रा तथा पाठा मारेको छ।

चितुवा र दुम्सीको बढ्दो आतङ्कका कारण किसानले खर्कमा पशु चराउनसमेत छाड्नुपर्ने अवस्था आएको सापकोटाले बताए।

“अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढ्न थालेको हो,” उनले भने, “हाम्रो गाउँमा बसाइँसराइ छैन, तर छिमेकी गाउँ रित्तिँदा खेतबारी झाडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थालेका छन्।”

बाँदरलाई बारीमै पुगेर धपाउन सकिने भए पनि चितुवा र दुम्सी नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ।

चितुवाले खर्कमै पुगेर चरिरहेका बाख्रामाथि आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले बताए। उनले चितुवा लखेट्न सहयोग पुग्ने कुकुर उपलब्ध गराउन जैमिनी नगरपालिकासँग माग गरेको जानकारी दिए।

आठ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पालेका थिए। तर, वन्यजन्तुको आक्रमण बढ्दै गएपछि अहिले बाख्राको सङ्ख्या घटाउँदै लगेको उनले बताए।

जैमिनी नगरपालिकामा बढ्दो बसाइँसराइका कारण बाँझो जग्गा र झाडी विस्तार हुँदै गएको छ। यसले बाँदर, चितुवा र दुम्सीजस्ता वन्यजन्तुको गतिविधि बढाउँदा गाउँमा बसिरहेका किसान थप समस्यामा परेका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार जैमिनीबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी छ। गाउँबस्ती खाली हुँदै जाँदा बाँझो जमिन र झाडी विस्तार हुने क्रम बढेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!