विशेष महाधिवेशनको वैधानिकतामाथि देउवाको प्रश्न, अदालतमा मुद्दा हालेको खुलासा

विशेष महाधिवेशनको वैधानिकतामाथि देउवाको प्रश्न, अदालतमा मुद्दा हालेको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले विशेष महाधिवेशन नगराएको दाबी गरेका छन्।

शनिबार देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए।

विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै देउवाले विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गरे।

उनले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशनलाई विस्थापन गर्न नहुने धारणा राखेको बताए। साथै, गगन थापालाई नियमित महाधिवेशनको मिति तय गरेर नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउन सुझाव दिएको उनको भनाइ छ।

देउवाले आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।

उनले भने, ‘अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन। त्यसकारण हामीले अदालतमा मुद्दा हालेका हौँ।’

यसैबीच, देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषय सार्वजनिक रूपमा बोलेको दाबीसमेत गरे।

पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको विषय उठाउँदै उनले आर्थिक लेनदेनका आधारमा पार्टी कब्जा गर्न खोजिएको आरोप लगाए। १८ करोड रुपैयाँ दिएर पार्टी किन्न खोजिएको भन्दै उनले आपत्ति जनाए।

उनले पार्टीलाई पैसाको बलमा किनबेच गर्न नहुने धारणा व्यक्त गरे।

लिङ्क सफलतापूर्वक कापि गरियो!