काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।
ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री जवाहर प्रसाद कुशबाहाले राजनीतिक निकासका लागि आफूहरूले सरकार छाडेको बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार अल्पमतमा परेको अवस्थाको समाधान खोज्न र नयाँ सरकार गठनका लागि बाटो सहज बनाउन राजीनामा दिएको स्पष्ट पारे।
‘राजनीतिक निकासका लागि हामीले राजीनामा दिएका हौँ। सरकार गठनका लागि बाटो खुलोस् र सहज होस् भन्ने हाम्रो उद्देश्य हो। अरू खासै केही होइन,’ उनले भने।
उनले पछिल्लो समय सरकार अल्पमतमा परेको विषयमा देखिएको समस्याको निकास निकाल्न आफूहरूले राजीनामा दिएको बताए।
‘अहिले पछिल्लो समय सरकारको अल्पमतसम्बन्धी जुन समस्या देखिएको छ, त्यसको निकास निकाल्नका लागि हामीले राजीनामा दिएका हौँ। यसलाई अन्यथा नलिनुहोला,’ उनले भने।
मन्त्री कुशबाहाले आफ्नो दलबाट मधेस प्रदेश सरकारमा सहभागी सबै मन्त्रीले राजीनामा दिएको जानकारीसमेत दिए।