बल टेम्परिङ विवादमा उस्मान ख्वाजाको दाबीलाई डेभिड वार्नरको समर्थन

बल टेम्परिङ विवादमा उस्मान ख्वाजाको दाबीलाई डेभिड वार्नरको समर्थन

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नरले सन् २०१८ को बल टेम्परिङ विवादबारे उस्मान ख्वाजाले गरेको दाबीको समर्थन गरेका छन् । उनले ख्वाजाले यस प्रकरणबारे सार्वजनिक गरेका सबै कुरा शतप्रतिशत सही भएको बताएका छन् ।

वार्नरले क्रिकेट अस्ट्रेलियाको तत्कालीन छानबिन प्रक्रियामाथि समेत प्रश्न उठाएका छन् । उनका अनुसार उक्त घटनाको छानबिन हतारमा गरिएको थियो र प्रकरणलाई उचित ढङ्गले सम्हाल्न सकिएको थिएन ।

सन् २०१८ मा दक्षिण अफ्रिकाको केपटाउनमा भएको तेस्रो टेस्ट खेलका क्रममा अस्ट्रेलियाली खेलाडीहरूले स्यान्डपेपर प्रयोग गरेर बलको अवस्था परिवर्तन गर्ने प्रयास गरेका थिए । उक्त घटनालाई क्रिकेट इतिहासकै चर्चित विवादमध्ये एक मानिन्छ ।

यस प्रकरणमा तत्कालीन कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरलाई एक वर्ष तथा ब्याट्सम्यान क्यामरन ब्यानक्रफ्टलाई नौ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

गत साता उस्मान ख्वाजाले अस्ट्रेलियाको पूरै टोलीलाई बल टेम्परिङका लागि स्यान्डपेपर प्रयोग गरिएको जानकारी रहेको दाबी गरेका थिए । तर टोलीका बलरहरूले भने उक्त योजनाबारे आफूहरूलाई जानकारी नभएको बताउँदै आएका छन् ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका वार्नरले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ख्वाजाको भनाइप्रति समर्थन जनाएका हुन् ।

उनले भने, ‘यो विषयमा मैले बोलेको आठ वर्ष भइसकेको छ । उस्सी (उस्मान ख्वाजा), म पूर्ण रूपमा तिम्रो साथमा छु ।’

वार्नरले थप भने, ‘तिमीले जे गर्‍यौ, त्यसका लागि धन्यवाद । तिमीले जे–जे कुरा भनेका छौ, ती शतप्रतिशत सही छन् । अब सबैलाई सत्य थाहा भएको छ ।’

लिङ्क सफलतापूर्वक कापि गरियो!