ओलीको कटाक्ष : ‘अर्‍हाएको काम गर्छन् भनेर नयाँ आइजिपी बनाएको होला’

ओलीको कटाक्ष : ‘अर्‍हाएको काम गर्छन् भनेर नयाँ आइजिपी बनाएको होला’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजिपी) परिवर्तन गर्ने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन्। उनले सरकारले आफूअनुकूल काम गराउन प्रहरी नेतृत्व परिवर्तन गरेको आशय व्यक्त गरेका हुन्।

बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले नवनियुक्त आईजिपी डा. मनोज केसीको नियुक्तिबारे टिप्पणी गरेका हुन्।

बहालवाला आईजिपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई नियुक्त गरिएको विषयमा पत्रकारले सोधेको प्रश्नमा ओलीले ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर नै नयाँ आईजिपी बनाएको होला’ भन्दै प्रतिक्रिया दिए।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै सरकारले डा. केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णयपछि प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!