काठमाडौँ । विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएको विवादमा परेका छन्। उनीसँग प्रेम सम्बन्ध रहेको बताइएकी एलिस हुआङमाथि चीनको खुफिया निकायका लागि काम गरेको र एनभिडियाका संवेदनशील सूचना संकलन गरेको आशंका गरिएको छ।
अमेरिकी खुफिया अधिकारीहरूका अनुसार एलिसले जेन्सेनसँगको सम्बन्धलाई उपयोग गर्दै एनभिडियाको चीनसम्बन्धी चिप कारोबारमा प्रभाव पार्ने प्रयास गरेको हुन सक्ने आशंका छ। यस प्रकरणमा दक्षिणपूर्वी एसियामा स्थापना गरिएका डेटा सेन्टर र करिब ४.८ अर्ब अमेरिकी डलर मूल्यका उन्नत एआई उपकरण खरिदको विषयसमेत जोडिएको छ।
अमेरिकी अधिकारीहरूले ती उपकरण गैरकानुनी रूपमा चीन पुर्याइएका थिए कि थिएनन् भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छन्। विवाद सार्वजनिक भएपछि जेन्सेन हुआङले आफ्नी पत्नीप्रति बेइमानी गरेको स्वीकार गर्दै परिवारसँग माफी मागेका छन्। उनले कम्पनीको सञ्चालक समितिले सुरु गरेको स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
को हुन् एलिस हुआङ ?
यो प्रकरणमा चर्चामा आएकी एलिस हुआङलाई हुआङ ले नामले पनि चिनिन्छ। उनको थर जेन्सेन हुआङसँग मिल्ने भए पनि उनीहरूबीच पारिवारिक सम्बन्ध छैन।
जुन २०२४ मा ताइवानको राजधानी ताइपेईस्थित एउटा बारमा एलिसलाई जेन्सेन हुआङसँगै देखिएको थियो। त्यसबेला उनीहरू गिगाबाइट र नेटथन्डरसँग सम्बन्धित अधिकारीहरूसँग थिए। उक्त भेटको तस्बिर लिंक्डइनमा समेत सार्वजनिक भएको थियो।
मे २०२५ मा एआई आपूर्तिकर्ताहरूसँग रात्रिभोज गरेपछि ताइपेईको एउटा रेस्टुरेन्टबाहिर पनि एलिस जेन्सेन हुआङको पछाडि उभिएको अवस्थामा देखिएकी थिइन्। त्यतिबेला एनभिडियाका प्रमुख पत्रकारहरूसँग कुराकानी गरिरहेका थिए।
त्यही अवधिमा एलिससँग सम्बन्धित एउटा कम्पनीले एनभिडियाका उन्नत उपकरण ठूलो परिमाणमा खरिद गरिरहेको थियो। द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार जेन्सेनले कम्पनीको सञ्चालक समितिसमक्ष एलिससँग आफ्नो निकट सम्बन्ध रहेको स्वीकार गरेका थिए।
पत्रकारिताबाट बैंकिङ र लगानीको क्षेत्रमा
चीनको एउटा निजी कोषसम्बन्धी डेटाबेसमा उपलब्ध विवरणअनुसार एलिसले चीनको हुनान टेलिभिजन र सरकारी प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) मा पत्रकारका रूपमा काम गरेकी थिइन्। त्यसपछि उनी एचएसबीसी बैंकमा आबद्ध भएकी थिइन्। पछि चीनको लगानी तथा वित्तीय सेवा कम्पनी सीआईटीआईसी सेक्युरिटिजमा उपाध्यक्षको जिम्मेवारी सम्हालेको विवरण पनि सार्वजनिक भएको छ।
तर, उनको पत्रकारितासम्बन्धी पृष्ठभूमिमा प्रश्न उठेका छन्। न्युयोर्क पोस्टले हुनान टेलिभिजनका एक अधिकारीसँग सम्पर्क गर्दा उनले एलिस हुआङको नाम आफूले पहिले कहिल्यै नसुनेको बताएका थिए। त्यस्तै, सीसीटीभीको वेबसाइटमा पनि उनको नाममा कुनै प्रोफाइल भेटिएको थिएन।
चीनको खुफिया निकायका लागि काम गरेको अमेरिकी आशंका
अमेरिकी खुफिया अधिकारीहरूले एलिस हुआङले चीनको राजधानी बेइजिङसम्म सूचना पुर्याइरहेको हुन सक्ने आशंका गरेका थिए। द न्युयोर्क टाइम्स र फाइनान्सियल टाइम्सका रिपोर्टमा एउटा गोप्य ज्ञापनपत्रलाई उद्धृत गर्दै चीनको राज्य सुरक्षा मन्त्रालयले जेन्सेन हुआङबारे जानकारी संकलन गर्न एलिसलाई भर्ती गरेको दाबी गरिएको छ।
अमेरिकी अधिकारीहरूको आशंका एलिसलाई एनभिडियाले चीनमा उन्नत चिप बिक्री गर्ने प्रयासलाई प्रभावित पार्ने जिम्मेवारीसमेत दिइएको हुन सक्ने भन्ने छ।
तर, चीनले एलिसलाई मेगास्पीड कम्पनीमा आबद्ध हुनुअघि नै भर्ती गरेको थियो वा जेन्सेनसँग परिचित भएपछि मात्रै यस्तो जिम्मेवारी दिएको थियो भन्ने स्पष्ट भएको छैन। उनीहरूबीच पहिलो भेट कहिले भएको थियो भन्नेबारे पनि सार्वजनिक रिपोर्टमा ठोस जानकारी छैन।
कम्पनीका कागजातले देखाएका कारोबारी गतिविधि
कर्पोरेट अभिलेखअनुसार चीनको मोबाइल गेमिङ व्यवसायसँग सम्बन्धित सिंगापुरको कम्पनी सेभेन–रोड इन्टरनेसनलले मार्च २०२३ मा आफ्नो नाम परिवर्तन गरी मेगास्पीड राखेको थियो। त्यही महिना एलिस हुआङ कम्पनीको प्रबन्ध निर्देशक बनेकी थिइन्।
मार्च २०२३ मै कम्पनीको स्वामित्व हुआङ ले लिमिटेडलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि नोभेम्बरमा स्वामित्व नयाँ कम्पनी स्विफ्टडेटालाई दिइयो। त्यतिबेलासम्म एलिसले कम्पनीको सञ्चालक पदबाट राजीनामा दिइसकेकी थिइन्।
तर, त्यसको केही महिनापछि जुन २०२४ मा उनी ताइपेईमा भएको प्रविधि क्षेत्रका व्यवसायीहरूको एउटा भेटघाटमा जेन्सेन हुआङसँगै देखिएकी थिइन्।
एलिसको सम्बन्ध सांघाईको लगानी क्षेत्रसँग पनि रहेको बताइएको छ। एउटा व्यावसायिक प्रोफाइलमा उनलाई सांघाई हेक्सी इन्भेस्टमेन्ट म्यानेजमेन्टसँग सम्बन्धित व्यक्तिका रूपमा उल्लेख गरिएको छ।
द न्युयोर्क टाइम्सले सांघाई र झेजियाङका लगानीकर्ता तथा कम्पनीहरूको सञ्जालबारे अनुसन्धान गरेको थियो। त्यसअनुसार उक्त सञ्जाल मोबाइल गेमिङ व्यवसायबाट विस्तार हुँदै एआई डेटा सेन्टरमा लगानी गर्न पुगेको थियो।
यस सञ्जालको लगानी चीनको ठूलो सैन्य प्रविधि समूह चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसनको एउटा साइबर सुरक्षा इकाइमा समेत रहेको थियो। यस कारोबारसँग सम्बन्धित लगानीकर्ताहरूले एलिस र उनका सहयोगीहरूले जेन्सेनसँगको सम्बन्धलाई लगानी जुटाउन प्रयोग गरेको बताएका छन्।
४.८ अर्ब डलरका एनभिडिया उपकरण खरिदको रहस्य
मेगास्पीडले सन् २०२४ को सुरुवातमा मलेसियामा स्पीडम्याट्रिक्स नामको सहायक कम्पनी स्थापना गरेको थियो। उक्त कम्पनीका जोहोरमा दुईवटा कार्यालय थिए। सुरुमा उपलब्ध जानकारीअनुसार मेगास्पीडले एनभिडियाका उत्पादन खरिद गर्न करिब दुई अर्ब अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो।
तर, द न्युयोर्क टाइम्सले उद्धृत गरेका व्यापारिक अभिलेखमा खरिदको रकम योभन्दा धेरै देखिएको छ। ती अभिलेखअनुसार सन् २०२४ जुनदेखि सन् २०२६ फेब्रुअरीसम्म मेगास्पीडको मलेसियाली सहायक कम्पनीले एनभिडियाका चिप जडित कम्तीमा ४.८ अर्ब अमेरिकी डलर मूल्यका उन्नत एआई उपकरण खरिद गरेको थियो।
मेगास्पीडले मलेसिया र इन्डोनेसियासहित दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्रमा डेटा सेन्टर विकास गरेको थियो। कम्पनीले चीनका ग्राहकलाई कम्प्युटिङ क्षमता उपलब्ध गराउँदै आएको थियो। उसका ग्राहकमा चीनको ठूलो प्रविधि कम्पनी अलिबाबासमेत रहेको थियो।
यस व्यावसायिक मोडेलअनुसार चीनका कम्पनीहरूले विदेशमा स्थापना गरिएका एनभिडियाका हार्डवेयर भाडामा लिएर प्रयोग गर्न सक्थे। यसरी प्रयोग गर्दा चिपलाई प्रत्यक्ष रूपमा चीन पठाउनुपर्ने अवस्था आउँदैनथ्यो।
तर, अमेरिकी अनुसन्धान निकायहरूले केही उपकरण गैरकानुनी रूपमा चीन पुर्याइएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेका थिए। एनभिडियाले भने आफूले सबै कानुन पालना गरिरहेको र चिप तस्करी भएको कुनै प्रमाण नभेटिएको जनाएको छ।
अक्टोबरको अन्त्यसम्म मेगास्पीड एनभिडियाको क्लाउड पार्टनर सूचीमा समावेश थियो। तर, द इन्फर्मेसनको रिपोर्टअनुसार आइतबारसम्म कम्पनीलाई एनभिडियाको प्राथमिकताप्राप्त साझेदारको सूचीबाट हटाइएको थियो।
निगरानीका क्रममा खुलेको जेन्सेन हुआङको नाम
अमेरिकी वाणिज्य विभागले जो बाइडेन प्रशासनको अन्तिम कार्यकालमा मेगास्पीडमाथि अनुसन्धान सुरु गरेको थियो। त्यसैक्रममा अमेरिकी खुफिया निकायहरूले एलिस हुआङको इलेक्ट्रोनिक निगरानी गरिरहेका थिए।
निगरानीका क्रममा एलिसको सम्पर्क एक अमेरिकी नागरिकसँग रहेको पत्ता लागेको थियो। सुरुमा ती व्यक्तिको पहिचान सार्वजनिक गरिएको थिएन। पछि अमेरिकी अधिकारीहरूले ‘अनमास्किङ’ प्रक्रियामार्फत उनको पहिचान सार्वजनिक गरेका थिए। ती व्यक्ति एनभिडियाका सीईओ जेन्सेन हुआङ थिए।
द न्युयोर्क टाइम्सका अनुसार यो प्रकरण सार्वजनिक हुनुभन्दा करिब एक वर्षअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसबारे जानकारी दिइएको थियो।
तर, एनभिडियाको बिक्री प्रभावित हुने, बजारमा अस्थिरता उत्पन्न हुने र चीनसँगको व्यापारिक सम्बन्धमा असर पर्ने सम्भावनाका कारण ट्रम्पले तत्काल कुनै कदम नचालेको रिपोर्टमा उल्लेख छ।
सुरुमा ट्रम्पलाई जानकारी गराउने अधिकारीहरूले जेन्सेनलाई एलिसको कथित खुफिया भूमिकाबारे जानकारी भएको विश्वास गरेका थिएनन्। तर, पछि प्रशासनका केही वरिष्ठ अधिकारीहरूले एनभिडियाका प्रमुख यस विषयमा पूर्ण रूपमा अनभिज्ञ रहन सम्भव थियो कि थिएन भन्ने प्रश्न उठाएका थिए।
विदेशी खुफिया निकायको निशानामा परेका अमेरिकी नागरिकलाई सामान्यतया औपचारिक चेतावनी दिइने गरिन्छ। तर, जेन्सेनलाई भने त्यस्तो कुनै चेतावनी दिइएको थिएन। रिपोर्टअनुसार अक्टोबरको अन्त्यसम्म पनि निगरानी जारी थियो।
मे २०२६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुनुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको निगरानीबाट प्राप्त सूचनाका आधारमा एउटा गोप्य ज्ञापनपत्र तयार पारिएको थियो।
द न्युयोर्क टाइम्सका अनुसार उक्त दस्तावेज वरिष्ठ अधिकारीहरूसम्म पुगेको थियो। फाइनान्सियल टाइम्ससँग कुरा गरेका व्यक्तिहरूले भने त्यसमा जेन्सेन र एलिसबीच प्रेम सम्बन्ध रहेको विषयसमेत उल्लेख गरिएको बताएका थिए।
चिप निर्यात नीतिमा ट्रम्प प्रशासनमाथि दबाब
जेन्सेन हुआङ र अमेरिकी प्रशासनबीच एनभिडियाका चिप चीनमा बिक्री गर्ने विषयमा निरन्तर छलफल हुँदै आएको थियो। सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा जेन्सेन प्रमुख टेबलमा बसेका थिए।
द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार एनभिडियाले ट्रम्पको ह्वाइट हाउसस्थित बलरुम निर्माण कोषमा कम्तीमा दुई करोड अमेरिकी डलर योगदान गरेको थियो।
जेन्सेन चीनमा चिप निर्यात गर्न लगाइएका प्रतिबन्ध खुकुलो बनाउनुपर्ने पक्षमा सबैभन्दा प्रभावशाली रूपमा आवाज उठाउने व्यक्तिमध्ये एक मानिन्छन्।
वर्तमान र पूर्वअधिकारीहरूले अखबारलाई बताएअनुसार ट्रम्पसम्म उनको सहज पहुँचका कारण चीनमा चिप निर्यातमाथि कडा नियन्त्रण लागू गर्न कठिन भएको थियो। अमेरिकी वाणिज्य विभागका केही अनुसन्धान र प्रस्तावित प्रतिबन्धसमेत अघि बढ्न सकेका थिएनन्।
चीनमा अमेरिकी चिप बिक्री गर्ने विषयमा अमेरिकी कांग्रेसले पनि सरकारसँग जवाफ माग्दै आएको थियो। यसमा एनभिडियाको एच२०० चिप बिक्री गर्ने प्रस्तावित योजनासमेत समावेश थियो।
उक्त प्रस्तावित व्यवस्थाअनुसार चिप बिक्रीबाट प्राप्त रकमको २५ प्रतिशत अमेरिकी सरकारलाई भुक्तानी गर्ने व्यवस्था प्रस्ताव गरिएको थियो।
एनभिडियाले सुरुमा भन्यो, ‘सामान्य व्यावसायिक सम्पर्क’
अक्टोबर २९ मा द न्युयोर्क टाइम्सले पहिलोपटक यस प्रकरणबारे रिपोर्ट सार्वजनिक गरेपछि एनभिडियाले जेन्सेन र एलिसबीच भएका भेटघाटलाई सामान्य व्यावसायिक सम्पर्कका रूपमा व्याख्या गरेको थियो।
कम्पनीका प्रवक्ताले ग्राहकहरूलाई सामान्य व्यावसायिक जानकारी उपलब्ध गराइने र उनीहरूलाई व्यापारसँग सम्बन्धित गोप्य जानकारीमा पहुँच नहुने बताएका थिए। जेन्सेनले पनि ब्लुमबर्गसँगको कुराकानीमा एलिससँगको आफ्नो संवाद मेगास्पीडसँग सम्बन्धित रहेको बताएका थिए। उनले उक्त सम्पर्कलाई पूर्ण रूपमा सामान्य र असामान्य केही नभएको बताएका थिए।
तर, त्यसको करिब १० दिनपछि एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान सुरु गर्ने घोषणा गर्यो। स्वतन्त्र सञ्चालक र बाह्य कानुनी सल्लाहकारको सहयोगमा अनुसन्धान अघि बढाइने कम्पनीले जनाएको थियो।
सञ्चालक समितिले अमेरिकी राष्ट्रिय सुरक्षा वा कम्पनीको गोप्य जानकारीमा सम्झौता भएको विश्वास गर्ने कुनै कारण नरहेको बताएको छ। साथै, समितिले जेन्सेन र उनको नेतृत्व टोलीप्रति विश्वास रहेको पनि स्पष्ट पारेको छ।
चीन र सिंगापुरले आरोप अस्वीकार गरे
एलिस हुआङमाथि लगाइएका आरोपलाई चीनले आधारहीन भनेको छ। बेइजिङस्थित चिनियाँ दूतावासले यी आरोपलाई निराधार भन्दै खारेज गरेको छ।
त्यस्तै, सिंगापुरको गृह मन्त्रालयले द वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा रिपोर्ट अस्वीकार गरेको छ। उक्त रिपोर्टमा सिंगापुरका अधिकारीहरूले एलिसमाथि चिनियाँ खुफिया निकायका लागि काम गरेको आशंकामा अनुसन्धान गरेको उल्लेख थियो।
रिपोर्टमा एलिससँग सन् २०२५ मा सोधपुछ गरिएको र पछि उनलाई छाडिएको दाबी गरिएको थियो। तर, सिंगापुर प्रहरीले मेगास्पीडसँग सम्बन्धित छुट्टै अनुसन्धान जारी रहेको पुष्टि गरेको छ।
मेगास्पीडले भने यस विषयमा अनुसन्धान गर्न बाह्य कानुनी सल्लाहकार नियुक्त गरेको र अमेरिकी सरकारलाई अनुसन्धानमा सहयोग गर्ने जानकारी गराएको जनाएको छ। ह्वाइट हाउस, सीआईए र राष्ट्रिय सुरक्षा एजेन्सीले यस विषयमा द न्युयोर्क टाइम्सले सोधेका प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन्।
अखबारका अनुसार अमेरिकी वाणिज्य विभागले यसै वर्ष मेगास्पीडसँग सम्बन्धित मुद्दा न्याय विभागमा पठाएको थियो।
अमेरिकी संसद्मा पनि उठ्यो विवाद
जेन्सेन हुआङसँग सम्बन्धित विवाद अमेरिकी संसद्मा समेत प्रवेश गरेको छ। रिपब्लिकन पार्टीका तीनवटा समितिका अध्यक्षहरूले उनलाई नोभेम्बर १८ मा बन्द कोठाभित्र हुने बैठकमा उपस्थित भएर यस प्रकरणबारे जानकारी दिन बोलाएका छन्।
त्यस्तै, डेमोक्रेटिक पार्टीकी सिनेटर एलिजाबेथ वारेनले पनि जेन्सेन र एनभिडियाको सञ्चालक समितिसँग यस विषयमा जवाफ मागेकी छन्।
यसरी एलिस हुआङसँगको सम्बन्ध, चीनको खुफिया निकायसँग जोडिएका आशंका र अर्बौं डलरका चिप उपकरण खरिदको अनुसन्धानले एनभिडियालाई व्यक्तिगत, व्यावसायिक र राष्ट्रिय सुरक्षा विवादको केन्द्रमा ल्याएको छ। यद्यपि, एलिसमाथि लगाइएका जासुसीसम्बन्धी आरोप पुष्टि भइसकेका छैनन् र कम्पनीले पनि आफ्नो गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षामा सम्झौता भएको प्रमाण नरहेको बताउँदै आएको छ।