काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले पछिल्लो २४ घण्टामा चौथो तेल ट्याङ्करलाई निशाना बनाएको दाबी गरेको छ। सोमबार राति ओमानको समुद्री सीमाक्षेत्र नजिकै अर्को तेल ट्याङ्करमाथि आक्रमण भएको इरानी पक्षले जनाएको हो।
बीबीसी फारसीका अनुसार बेलायतको म्यारीटाइम ट्रेड अपरेसन्स सेन्टर (यूकेएमटीओ) ले ओमानको खासबबाट सात समुद्री माइल उत्तरमा भएको घटनाबारे जानकारी प्राप्त गरेको जनाएको छ।
आईआरजीसीले ती ट्याङ्करहरूले होर्मुज जलडमरूमध्य पार गर्ने क्रममा तोकिएका नियम उल्लङ्घन गरेको आरोप लगाएको छ।
यूकेएमटीओका अनुसार जहाजमा सवार चालक दलका सबै सदस्य सुरक्षित छन्। यद्यपि, जहाजमा पुगेको क्षति र घटनाले समुद्री वातावरणमा पार्न सक्ने सम्भावित असरबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
ओमानको समुद्री सीमाक्षेत्र नजिकै सोमबार साँझ भएको यो घटना इरानका विदेशमन्त्री अब्बास अरागची ओमानको राजधानी मस्कट पुगेकै समयमा भएको हो।