मलेसियाबाट फर्किएका पुरुषलाई तीन महिलाले श्रीमान् दाबी गरेपछि विमानस्थलबाहिर तनाव

मलेसियाबाट फर्किएका पुरुषलाई तीन महिलाले श्रीमान् दाबी गरेपछि विमानस्थलबाहिर तनाव

ढाका । मलेसियाबाट स्वदेश फर्किएका एक बङ्गलादेशी नागरिकलाई आफ्नो श्रीमान् दाबी गर्दै तीन महिलाबीच तानातान र विवाद भएपछि ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाहिर केही समय तनाव सिर्जना भएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका ती पुरुष विमानस्थलको आगमन कक्षबाट बाहिरिनेबित्तिकै तीनै जना महिलाले उनलाई आफ्नो श्रीमान् भएको दाबी गर्दै घर लैजान तानातान सुरु गरेका थिए ।

आफ्नो श्रीमान्लाई घर लैजाने विषयमा महिलाहरूबीच चर्काचर्की, रुवाबासी र हात हालाहालसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि विमानस्थल परिसरमा यात्रु तथा सर्वसाधारणको ठूलो भिड जम्मा भएको थियो ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले हस्तक्षेप गरी भिडलाई तितरबितर पार्नुका साथै विवाद साम्य पारेका थिए ।

दक्षिण एसियाली सञ्चारमाध्यम ‘द एक्सप्रेस ट्रिब्युन’ लगायतका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भइरहेको छ । यद्यपि, भिडियोमा देखिएका व्यक्तिहरूको वास्तविक पहिचान र तीन महिलाले गरेको दाबीको आधिकारिक पुष्टि हुन सकेको छैन ।

लिङ्क सफलतापूर्वक कापि गरियो!