काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही हिमाली क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। अन्य हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।