एनभिडियाका सीईओ हुआङलाई ट्रम्पको साथ, चिनियाँ जासुससँगको सम्बन्धबारे अनुसन्धान

एनभिडियाका सीईओ हुआङलाई ट्रम्पको साथ, चिनियाँ जासुससँगको सम्बन्धबारे अनुसन्धान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङप्रति विश्वास व्यक्त गर्दै कथित चिनियाँ जासुससँगको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनलाई कुनै समस्या नपार्ने बताएका छन्।

हुआङको चिनियाँ जासुसी अभियानसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि ट्रम्पले सोमबार उनीसँग फोनमा कुराकानी गरेका थिए। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुआङलाई ती महिला चिनियाँ जासुस हुन् भन्ने थाहा थियो कि थिएन भनेर सोधेको र उनले आफूलाई यसबारे कुनै जानकारी नभएको जवाफ दिएको बताए।

‘उनले ती महिला जासुस हुन् भन्ने आफूलाई कुनै जानकारी नभएको बताए। म उनलाई विश्वास गर्छु,’ ट्रम्पले भने। उनले हुआङलाई सम्मानित व्यक्ति भन्दै अनुसन्धानका कारण उनलाई कुनै समस्या नहुने विश्वाससमेत व्यक्त गरे।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस हुआङ (हुआङ ले) नामकी महिलालाई बेइजिङका लागि काम गर्ने जासुस भएको आशंका गरेका छन्। उनी सिंगापुरस्थित मेगास्पिड कम्पनीकी प्रबन्ध निर्देशक थिइन्। उक्त कम्पनीको एनभिडियासँग व्यावसायिक सम्बन्ध रहेको बताइएको छ। एलिस र एनभिडियाका प्रमुख जेनसन हुआङबीच भने पारिवारिक सम्बन्ध छैन।

रिपोर्टअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले छ महिनाअघि नै एनभिडियाका प्रमुखको चिनियाँ जासुससँग निकट सम्बन्ध रहेको भन्दै उच्च सरकारी अधिकारीहरूलाई चेतावनीसहितको ज्ञापनपत्र पठाएका थिए।

चीनको विदेश मन्त्रालयले भने यी आरोप अस्वीकार गर्दै आधारहीन र अनुमानमा आधारित रहेको बताएको छ। चीनले यस्तो आरोप आफ्नो छवि बिगार्ने उद्देश्यले लगाइएको दाबी गरेको छ। एनभिडियाले पनि घटनाबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ। कम्पनीले आफ्नो व्यापारिक गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको विश्वास गर्ने कुनै आधार नरहेको जनाएको छ।

यस घटनाले एनभिडियाको सेयर मूल्यमा समेत असर पारेको छ। सोमबारको कारोबारका क्रममा कम्पनीको बजार मूल्य करिब २५० अर्ब अमेरिकी डलरले घटेको थियो। कम्पनीको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले ओरालो लागेको थियो।

यसैबीच, हुआङ र एनभिडियाविरुद्ध क्यालिफोर्नियामा सेयरधनीका तर्फबाट सामूहिक मुद्दासमेत दायर गरिएको छ। कम्पनीले हुआङको एलिससँगको सम्बन्ध लुकाएर लगानीकर्तालाई भ्रममा पारेको र ती महिलाले एनभिडियाका उत्पादन अवैध रूपमा चीन पुर्‍याउन सहयोग गर्न खोजेको आशंका मुद्दामा गरिएको छ।

अमेरिकी संसद्का विभिन्न समितिले पनि एनभिडियाको सुरक्षा व्यवस्था र कथित चिनियाँ गुप्तचर सम्पत्तिसँग हुआङको सम्बन्धबारे जानकारी लिन अर्को साता बन्द बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सञ्चालनका लागि आवश्यक अत्याधुनिक चिप निर्माण गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो। अमेरिका र चीनबीचको एआई प्रविधिसम्बन्धी प्रतिस्पर्धामा कम्पनीको महत्वपूर्ण भूमिका छ।

अमेरिकाले यसअघि चीनमा उन्नत चिप बिक्रीमा प्रतिबन्ध लगाउँदै आएको थियो। तर, ट्रम्प प्रशासनले गत जनवरीमा निश्चित सर्तसहित एनभिडियालाई आफ्नो दोस्रो उन्नत चिप एच२०० चीनमा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो। हुआङ भने लामो समयदेखि चीनलाई चिप बिक्रीमा लगाइएको प्रतिबन्धको विपक्षमा रहँदै आएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!