काठमाडौं । तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११:०७ बजे भाइटीकाको उत्तम साइत रहेको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ।
भाइटीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई विभिन्न मिठा परिकार तथा माला प्रदान गर्ने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान र प्रेम प्रकट गर्ने परम्परा छ।
नेवार समुदायमा भने भाइटीकालाई ‘किजापूजा’ का रूपमा मनाउने गरिन्छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।