काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको शुभकामना सन्देशमार्फत विगतमा नेपालले भोग्नुपरेको लोडसेडिङको अवस्थालाई स्मरण गरेका छन् ।
उनले २०७३ सालअघिको अन्धकारमय अवस्थाको स्मरण गर्दै नागरिकको साथ, सहयोग र आफ्नो संकल्पका कारण लोडसेडिङ अन्त्य गर्न सफल भएको बताएका छन् ।
‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ घिसिङले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
उनले अब सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणका लागि अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानमा सम्पूर्ण नागरिकको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
घिसिङले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।