कांग्रेसले ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने

कांग्रेसले ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौं’ भन्ने नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन पार्टीले तयारी तीव्र पारेको छ ।

अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक कार्यदिशा, जिम्मेवारी र जानकारी दिन पार्टीले आज विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको प्रमुख उपस्थितिमा हुने कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिलाई बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ ।

त्यस्तै, उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको छ । सम्बन्धित प्रतिनिधिहरूको मोबाइलमा जुम बैठकको लिंक पठाइने र सोहीमार्फत निर्धारित समयमा सहभागी हुन सकिने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन् ।

देशका सबै स्थानीय तहमा सञ्चालन हुने अभियानलाई व्यवस्थित, उद्देश्यपूर्ण र प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम महत्वपूर्ण हुने कांग्रेसले विश्वास व्यक्त गरेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!