काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको केही समयपछि प्रधानमन्त्री शाह शीतलनिवास पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालय तथा विभिन्न स्रोतका अनुसार प्रधानमन्त्री शाह आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन शीतलनिवास पुगेका हुन्। भारत भ्रमणअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट नगरेको विषयलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी हुँदै आएका थिए।
संवैधानिक व्यवस्था तथा स्थापित कूटनीतिक परम्पराअनुसार प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि र स्वदेश फर्किएपछि राष्ट्रप्रमुखलाई भ्रमणको उद्देश्य, गतिविधि तथा उपलब्धिबारे जानकारी गराउने प्रचलन छ।
आजको भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका द्विपक्षीय वार्ता, सहमति तथा समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउने बताइएको छ।
यसअघि आजै रास्वपा सभापति लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।