जनकपुरधाम । भारतको अयोध्याबाट रेल चढेर जनकपुरधाम आइपुगेका तीर्थयात्रीका लागि यो केवल यात्रा मात्र होइन, भगवान् रामको जन्मभूमि र माता सीताको जन्मभूमिबीचको धार्मिक सम्बन्धलाई प्रत्यक्ष अनुभूति गर्ने अवसर पनि हो । करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्दै जनकपुर आइपुग्ने ‘सरयू–कमला एक्सप्रेस’ सञ्चालनमा आएसँगै दुई धार्मिक सहरबीचको सम्बन्धले नयाँ आयाम पाएको छ ।
संयोग पनि कस्तो छ भने, रेल सेवा सुरु भएकै बेला जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको रौनक सुरु हुँदैछ । त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह भएको स्मरणमा मनाइने यस महोत्सवले हरेक वर्ष हजारौँ श्रद्धालुलाई जनकपुर तान्ने गर्छ । यसपटक अयोध्या–जनकपुर रेल सेवाले धार्मिक आस्थासँगै पर्यटकको आवागमन बढाउने सम्भावना थपेको छ ।
अयोध्यास्थित राम मन्दिरको दर्शनपछि सीताको जन्मभूमि जनकपुरधाम पुग्ने भारतीय श्रद्धालुका लागि रेल सेवा सहज माध्यम बनेको छ । यसले विवाह पञ्चमीको भीड बढाउने मात्र नभई दुई धार्मिक सहरबीच नियमित पर्यटकीय आवागमनको आधारसमेत तयार गरेको छ । तर जनकपुरधामका लागि अहिलेको मुख्य प्रश्न पर्यटक कति आउँछन् भन्ने मात्र होइन, यहाँ आइपुगेका पर्यटकलाई कति समयसम्म रोक्न सकिन्छ भन्ने पनि हो ।
रेलले ल्याउने पर्यटक, व्यवसायीको नयाँ योजना
अयोध्याबाट जनकपुरसम्म रेल सेवा सुरु भएसँगै मधेस प्रदेशका पर्यटन व्यवसायी सम्भावित पर्यटकको आगमनलाई आर्थिक अवसरमा बदल्ने योजनामा जुटेका छन् । उनीहरूका अनुसार जनकपुरलाई जानकी मन्दिरको दर्शन गर्ने एकदिने गन्तव्यमा सीमित नराखी धार्मिक, सांस्कृतिक, प्राकृतिक र मनोरञ्जनात्मक पर्यटनको केन्द्रका रूपमा विकास गर्न आवश्यक छ ।
बाराको निजगढमा होटल तारा इन सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी युवराज लामाले रेल सेवाले जनकपुरमा मात्र नभई समग्र मधेस प्रदेश र देशकै पर्यटन गतिविधि विस्तार गर्न सक्ने बताए । भारतमा धार्मिक स्थललाई जोडेर धार्मिक सर्किट निर्माण गरिएजस्तै नेपालमा पनि स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका पर्यटकीय गन्तव्यलाई एउटै भ्रमण प्याकेजमा जोड्नुपर्ने उनको सुझाव छ ।
‘पर्यटकको बसाइ लम्ब्याउन जानकी मन्दिरसँगै बाराको गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्जमा सफारी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधि समेट्न सकिन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि नयाँ रुट र पर्यटकीय सर्किट निर्माण गरेर प्रभावकारी प्रचारप्रसार गर्न आवश्यक छ ।’
लामाको सुझावले जनकपुरको पर्यटनलाई प्रदेशका अन्य गन्तव्यसँग जोड्ने सम्भावना देखाउँछ । जनकपुर आउने पर्यटकलाई गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज हुँदै अन्य पर्यटकीय क्षेत्रमा पुर्याउन सके उनीहरूको बसाइ र खर्च दुवै बढ्न सक्छ ।
पर्यटन व्यवसायी (नाटा) का अध्यक्ष भरतजंग पाण्डे पनि पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताउँछन् । सरकारसँग पूर्वाधार र नीतिगत सहयोग अपेक्षा गर्नु स्वाभाविक भए पनि व्यवसायी आफैँले पर्यटक आकर्षित गर्ने कार्यक्रम र प्याकेज तयार गर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पोखरा, सौराहा, लुम्बिनी र काठमाडौंमा केन्द्रित पर्यटन गतिविधिलाई जनकपुरजस्ता सम्भावनायुक्त सहरसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन सञ्जाल विस्तार गर्नुपर्छ ।
विवाह पञ्चमी : धार्मिक आस्थासँगै आर्थिक अवसर
जनकपुरधामको पहिचानसँग जोडिएको विवाह पञ्चमी यहाँको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव हो । सात दिनसम्म चल्ने यस महोत्सवमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित विभिन्न स्थानबाट साधुसन्त, महन्थ र श्रद्धालु सहभागी हुन्छन् ।
यस वर्ष श्री जानकी मन्दिर तथा विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिको आयोजनामा मंसिर २३ देखि २९ गतेसम्म विवाह पञ्चमी मनाइँदैछ । महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयंवर तथा शुभविवाह र रामकलेवा आयोजना हुनेछन् । मंसिर २८ गते मुख्य दिन रंगभूमि मैदानमा स्वयंवर र साँझ जानकी मन्दिर परिसरमा राम–सीताको प्रतीकात्मक विवाह हुनेछ । मंसिर २९ गते रामकलेवासँगै महोत्सव सम्पन्न हुनेछ ।
हरेक वर्ष विवाह पञ्चमीमा जनकपुरधाममा श्रद्धालुको ठूलो भीड लाग्छ । होटल तथा धर्मशाला भरिन्छन्, रेस्टुरेन्टमा चहलपहल बढ्छ भने फूलमाला, मिठाई, पूजा सामग्री र स्थानीय यातायातको कारोबार बढ्छ । यस वर्ष अयोध्या–जनकपुर रेल सेवा पनि सञ्चालनमा आएकाले भारतीय श्रद्धालुको आगमन थप बढ्न सक्ने अपेक्षा गरिएको छ । त्यसको लाभ होटल, रेस्टुरेन्ट, यातायात व्यवसायी, स्थानीय बजार तथा मिथिला कला र हस्तकलासँग जोडिएका उद्यमीले लिन सक्छन् ।
तर विवाह पञ्चमीको रौनक लामो समय टिक्दैन । जानकी मन्दिर अगाडि फूलमाला बेच्दै आएकी चन्द्रिका मालीका अनुसार महोत्सवको केही दिनअघि नै जनकपुरमा अत्यधिक चहलपहल बढ्छ र व्यापार पनि राम्रो हुन्छ । एक–दुई दिनपछि सबै फर्किन्छन् ।
पर्यटकको बसाइ लम्ब्याउन र भीड व्यवस्थापन गर्न स्थानीय नेतृत्व तथा ठूला व्यवसायीले ध्यान दिनुपर्ने उनको भनाइ छ । भीड व्यवस्थापन गर्न नसक्दा केही दिनको चहलपहलले सहरमा फोहोर र दुर्गन्धसमेत बढाउने गरेको उनले बताइन् ।
जानकी मन्दिरभन्दा बाहिर पनि छ जनकपुरको पर्यटन
जनकपुर आउने अधिकांश पर्यटकको मुख्य आकर्षण जानकी मन्दिर र त्यससँग सम्बन्धित धार्मिक स्थल हुन् । तर जनकपुरधामको पर्यटन सम्भावना यतिमै सीमित छैन । राम मन्दिर, विवाह मण्डप, धनुषसागर, गंगासागर, रत्नसागरलगायत धार्मिक तथा सांस्कृतिक स्थलसँगै मिथिला चित्रकला, परम्परागत खानपान, लोकसंस्कृति र स्थानीय जीवनशैली पनि पर्यटकका लागि आकर्षण बन्न सक्छन् ।
होटल व्यवसायी मिथिला थालीका सञ्चालक एवं सेफ सन्तोष साहका अनुसार रेल सेवा सुरु भएपछि पर्यटकको आगमन बढ्ने अपेक्षा गर्नु स्वाभाविक भए पनि त्यसअनुसार तयारी गर्न आवश्यक छ । जानकी मन्दिरको दर्शन गरेर केही घण्टामै फर्किने पर्यटकलाई कम्तीमा एक–दुई दिन जनकपुरमै बस्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । त्यसका लागि धार्मिक स्थलको भ्रमणसँगै स्थानीय खानपान, मिथिला संस्कृति र अन्य पर्यटकीय गतिविधि समेट्नुपर्छ ।
साह जनकपुरधामलाई ‘डेस्टिनेसन म्यारिज हब’ का रूपमा विकास गर्नुपर्ने पनि बताउँछन् । मिथिलाको विवाह परम्परा, धार्मिक वातावरण र सांस्कृतिक विशेषतालाई उपयोग गर्दै स्वदेशी तथा विदेशी जोडीलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।
त्यस्तै, मिथिला चित्रकला र हस्तकलालाई पर्यटनसँग जोड्न सके स्थानीय कलाकार तथा उद्यमीले प्रत्यक्ष लाभ लिन सक्छन् । मिथिला आर्टका निर्देशक कलाकार सुनैना ठाकुरका अनुसार पर्यटकलाई स्थानीय कला, संस्कृति र परिकारसँग परिचित गराउने कार्यक्रम आवश्यक छ ।
पर्यटकलाई केवल मन्दिर दर्शन गराएर फर्काउनेभन्दा स्थानीय कला, संस्कृति र जीवनशैलीसँग जोड्न सके जनकपुरको पर्यटनले फराकिलो आधार पाउन सक्ने उनको भनाइ छ ।
पर्यटक ल्याउने रेल, स्वागत गर्न सहर तयार ?
रेल सेवाले अयोध्याबाट जनकपुरधामसम्म पर्यटक ल्याउने बाटो खोले पनि रेल्वे स्टेसन र त्यहाँबाट जानकी मन्दिरसम्म पुग्ने सडकले सहरबारे पर्यटकको प्रारम्भिक धारणा निर्माण गर्छ । त्यसैले रेल्वे स्टेसनदेखि जानकी मन्दिरसम्मको सडक, सरसफाइ, यातायात र आवश्यक सूचना उपलब्ध गराउने व्यवस्थामा विशेष ध्यान दिनुपर्ने स्थानीय व्यवसायी चन्दनकुमार साह बताउँछन् ।
विवाह पञ्चमीका बेला हजारौँ श्रद्धालु एकैपटक सहरमा भेला हुँदा फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, खानेपानी, पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिन्छ । नगरपालिकाले प्रत्येक वर्ष महोत्सवलाई लक्षित गरी सरसफाइ, अस्थायी शौचालय, खानेपानीलगायत व्यवस्थापनमा बजेट खर्च गर्दै आए पनि ती व्यवस्था दीर्घकालीन र प्रभावकारी हुन नसकेको स्थानीय व्यवसायीको गुनासो छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले रेल सेवा सुरु भएपछि पर्यटकको बसाइ लम्ब्याउन सकिने सम्भावित कार्यक्रमबारे विभिन्न पक्षसँग परामर्श सुरु गरेको बताए । उनका अनुसार होटल व्यवसायीसँग छलफल गरी जिल्लाभित्र रहेका होटलको स्तर, उपलब्ध शय्या संख्या र मूल्यसहितको विवरण वेबसाइटमा राख्न आग्रह गरिएको छ । सरसफाइ र जानकी मन्दिर वरिपरि विशेष निगरानीको काम पनि सुरु गरिएको उनले बताए ।
सात दिनको भीडलाई वर्षभरको पर्यटनमा बदल्ने चुनौती
जनकपुरधामका लागि विवाह पञ्चमी सात दिनको धार्मिक उत्सव मात्र नभई पर्यटन सम्भावना प्रदर्शन गर्ने अवसर पनि हो । तर यसको उपलब्धि महोत्सवमा कति मानिस सहभागी भए भन्ने संख्याले मात्र निर्धारण गर्दैन । त्यसपछि कति पर्यटक जनकपुरमै बसे, कति स्थानीय व्यवसायसँग जोडिए र कति पर्यटक फेरि फर्किए भन्ने कुराले दीर्घकालीन प्रभाव निर्धारण गर्छ ।
होटल संघ नेपाल मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानका अनुसार रेल सेवा सञ्चालन हुनु अवसरको सुरुवात हो । त्यसलाई दीर्घकालीन पर्यटन विकासमा बदल्न पर्यटकमैत्री पूर्वाधार, गुणस्तरीय होटल सेवा, व्यवस्थित यातायात, सरसफाइ, पर्यटकीय सूचना र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्छ ।
‘रेल सेवा सञ्चालन हुनु आफैँमा महत्वपूर्ण अवसर हो । तर पर्यटकलाई आकर्षित गर्न र उनीहरूको बसाइ लम्ब्याउन आवश्यक पूर्वाधार तथा सेवा पनि सँगसँगै विकास गर्नुपर्छ,’ उनी भन्छन् ।
पर्यटन व्यवसायीका अनुसार मधेस प्रदेशभरिका सूचीकृत होटलमा एक दिनमा २० हजार पर्यटक राख्न सक्ने अवस्था छ । त्यसैले पर्यटकको आगमनसँगै उनीहरूलाई घुम्ने ठाउँ, बस्ने सुविधा, खानपान, यातायात र सांस्कृतिक अनुभव उपलब्ध गराउनु आवश्यक छ ।
अयोध्या–जनकपुर रेल सेवाले दुई धार्मिक सहरबीच नियमित पर्यटकीय सम्पर्कको सम्भावना बढाएको छ । यसलाई उपयोग गर्दै रामायण सर्किट, संयुक्त धार्मिक भ्रमण प्याकेज, स्थानीय सांस्कृतिक कार्यक्रम र अन्य पर्यटकीय गन्तव्यसँगको सम्पर्क विस्तार गर्न सकिन्छ ।
विवाह पञ्चमीमा लाग्ने भीड केही दिनपछि घट्छ । तर रेल सेवाबाट खुलेको सम्भावना सात दिनमै सीमित हुनुपर्ने छैन । जनकपुरले पर्यटकलाई स्वागत गर्ने तयारी, सहरको सरसफाइ र पर्यटन प्याकेज विकास गर्न सक्यो भने विवाह पञ्चमीको रौनक वर्षभरि चल्ने आर्थिक गतिविधिमा बदलिन सक्छ । अन्ततः जनकपुरका लागि चुनौती पर्यटक ल्याउने मात्र होइन, उनीहरूलाई यहाँ बस्न मन लाग्ने सहर बनाउने हो । रेलले बाटो खोलेको छ, अब त्यो बाटोलाई पर्यटन र समृद्धिसँग जोड्ने जिम्मेवारी जनकपुरकै काँधमा छ ।