शरद ऋतुमा ७६ देशका १,४९३ आरोहीले लिए हिमाल आरोहण अनुमति, ३२ करोड राजस्व संकलन

शरद ऋतुमा ७६ देशका १,४९३ आरोहीले लिए हिमाल आरोहण अनुमति, ३२ करोड राजस्व संकलन

काठमाडौँ । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीको आकर्षण उल्लेख्य देखिएको छ। पर्यटन विभागको तथ्याङ्कअनुसार यस सिजनमा विश्वका ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणको अनुमति लिएका छन्।

कार्तिक १२ गतेसम्मको तथ्याङ्कअनुसार अनुमति लिने आरोहीमध्ये १ हजार १३७ पुरुष र ३५६ महिला रहेका छन्। यसले नेपालका हिमालप्रति अन्तर्राष्ट्रिय पर्वतारोहीको आकर्षण बढिरहेको देखाएको छ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले उपलब्ध गराएको विवरणअनुसार यस सिजनमा सबैभन्दा बढी आरोहीको आकर्षण ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा देखिएको छ। मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। तीमध्ये ३७३ पुरुष र १२७ महिला छन्।

त्यसैगरी, ८ हजार ६१४ मिटर अग्लो आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले अनुमति लिएका छन्। तीमध्ये ३११ पुरुष र १०१ महिला रहेका छन्।

यसैगरी, हिम्लुङ हिमाल आरोहणका लागि १३०, बरुण त्सेमा ६५ र थापा पिकका लागि ५५ जनाले अनुमति लिएका छन्। यस सिजनमा आठ हजार मिटरभन्दा अग्ला हिमालदेखि साना तथा मझौला हिमालसम्म आरोहीको चहलपहल देखिएको छ।

कुन देशबाट कति आरोही ?

पर्यटन विभागको देशगत विवरणअनुसार यस सिजनमा सबैभन्दा धेरै चीनबाट १४२ जनाले आरोहण अनुमति लिएका छन्। त्यसपछि फ्रान्सबाट १३६, अमेरिकाबाट १२१, रुसबाट ११३, बेलायतबाट १०२, जर्मनीबाट ९७, इटालीबाट ६३, स्पेनबाट ५५, भारतबाट ४० र नर्वेबाट ३२ जना आरोहीले अनुमति लिएका छन्।

नेपालबाट पनि ४० जनाले हिमाल आरोहणको अनुमति लिएका छन्। तीमध्ये ३७ पुरुष र तीन महिला रहेका छन्।

३२ करोडभन्दा बढी रोयल्टी संकलन

हिमाल आरोहण अनुमति जारी गरेबापत सरकारले यस शरद ऋतुमा ३२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

पर्यटन विभागको प्रतिवेदनअनुसार हालसम्म आरोहण रोयल्टीबापत २१ लाख २८ हजार १०९ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३२ करोड ३७ लाख ८८ हजार ९९० संकलन भएको छ।

कुल रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालबाट प्राप्त भएको छ। मनास्लु आरोहणबाट मात्रै १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी, आमादब्लम हिमालबाट चार लाख चार हजार अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ छ करोड १६ लाख ५१ हजार ६५० रोयल्टी प्राप्त भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!