अमेरिकामा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

अमेरिकामा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए, यात्रु सकुशल

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानको तयारीमा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको थियो । दुवै विमान उडानका लागि विमानस्थलको ट्याक्सीवेमा अघि बढिरहेका बेला घटना भएको हो ।

घटनापछि दुवै विमानलाई आआफ्नो पार्किङ गेटमा फर्काइएको थियो । अमेरिकन एयरलाइन्सले प्राविधिक निरीक्षणका लागि दुवै विमानलाई सेवाबाट हटाइएको जनाएको छ ।

सीबीएस न्युजलाई दिएको वक्तव्यमा एयरलाइन्सले भनेको छ, ‘दुवै विमानलाई आआफ्नो गेटमा फर्काइएको छ र हाम्रो मर्मतसम्भार टोलीबाट निरीक्षण गर्न सेवाबाट हटाइएको छ ।’

एफएए र अमेरिकन एयरलाइन्सले घटनामा कसैलाई चोटपटक नलागेको पुष्टि गरेका छन् । मेट्रोपोलिटन वासिङ्टन एयरपोर्ट्स अथोरिटीका अनुसार विमानहरू एकआपसमा ठोक्किएपछि अग्नि नियन्त्रण तथा उद्धार टोली घटनास्थल पुगेको थियो । यद्यपि, उक्त घटनाले विमानस्थलका अन्य उडान सञ्चालनमा कुनै अवरोध सिर्जना नगरेको प्राधिकरणले जनाएको छ ।

फ्लाइट ६३८ टेक्सासको डलास र फ्लाइट २१५२ सिकागोका लागि उडान भर्ने तयारीमा थिए । घटनापछि दुवै उडानका यात्रुलाई अर्को विमानमार्फत गन्तव्यमा पुर्‍याउने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।

न्युयोर्क पोस्टका अनुसार घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्नेछ । अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण हवाई यात्रुको चाप बढिरहेका बेला विमानस्थलहरूमा उडानसम्बन्धी अवरोधका घटना भइरहेका छन् ।

यसअघि नोभेम्बर २६ मा मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फेडएक्सको कार्गो विमान धावनमार्गबाट बाहिरिएको थियो । मेम्फिसबाट उडेको म्याकडोनल डगलस एमडी–११ विमान (फ्लाइट ९१०) अवतरणका क्रममा रनवे २६आर बाट बाहिरिएपछि विमानस्थलका केही धावनमार्ग बन्द गर्नुपरेको थियो ।

घटनापछि मियामी–डेड अग्नि तथा उद्धार टोली परिचालन गरिएको थियो । उक्त घटनामा पनि कसैलाई चोटपटक लागेको थिएन ।

लिङ्क सफलतापूर्वक कापि गरियो!